नेपालमा अहिले पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ । जसले गर्दा हाल देशका पश्चिमी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । पूर्वी भू–भागमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
राती पनि देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ ।
त्यस्तै, बिहीवार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ । राती पनि देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली तथा पश्चिमका भू–भागमा आंशिक बदलि रही पश्चिमका एक–दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
शुक्रबार भने देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राती भने देशभर मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टामा देशका केहि स्थानहरूमा वर्षा रहिमपातको संभावना रहेको र यसकै कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ ।