सोमवारसम्म मौसम सफा रहने, मंगलवारबाट वर्षा

केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि मौसम सुधार हुने मौसमविद्ले बताएका छन् । मौसम पुर्वानुमान महाशाखाले शनिवारदेखि सोमबारसम्म देशभरको मौसम सफा रहने जनाएको छ ।

अहिले काठमाडौंसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जाने जानेछ । कुहिरो हटे पनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।



तर बेलुकाको समयमा भने मध्य र पूर्वी पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । काठमाडौं उपत्यकाको शुक्रवार बिहान पौने ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

त्यस्तै, महाशाखाले नेपालमा चौंथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको जनाएको छ । नेपालतिर आउँदै गरेको उक्त प्रणालीका कारण फेरि मंगलवारदेखि वर्षाको संकेत गरिरहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

चिसोका बेला शरीरलाई न्यानो बनाइ राख्न तथा तातो झोलिलो खानेकुरा धेरै खान डाक्टरको सुझाव छ ।

सम्बन्धित समाचार