अवैध गिट्टी बालुवा उत्खनन्को पटक–पटक विरोध गर्दै आएका युवकलाई ट्रिपरले किचेर हत्या गरिएको छ । धनुषाको औरही खोला उत्खनन्को विरोधमा प्रहरी प्रशासन सम्म पुगेका युवकलाई सोही खोलामा ट्रिफरले किचेर शुक्रवार हत्या भएको स्थानीयको आरोप छ ।
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुर बस्ने राम जीवन महतोको २४ वर्षीय छोरा दिलीपकुमार महतो ‘ओमप्रकाश’को औरही खोलामा ट्रिपरले किचेर हत्या भएको हो । शुक्रवार बिहान साथी रोशन यादवसँग खोलामा मोर्निङ वाक गएको समयमा ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेको थियो ।
घटना लगतै इलाका प्रहरी कार्यालय ढल्केवरको टोली पुगेर शव नियन्त्रणमा लिई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ । ट्रिपर इलाका प्रहरी कार्यालय ढल्केबरले आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक राममेश्वर कार्कीले जानकारी दिए ।
घटनाको प्रकृति हेर्दा नियोजित रुपमा ट्रिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए ।
घटनापश्चात् ट्रिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले बताए । गाउँलाई नै जोखिममा पर्ने गरी औरही–बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन्को दिलिपको नेतृत्वमा गाउँलेले विरोध गर्दै आएको थिए । रिसिबी साँध्न क्रसर सञ्चालकले योजनाबद्ध रुपमा दिलीपको हत्या गरेको स्थानीय उमेश कुशवाहाको आरोप छ ।
यता घटनाको विरोधमा गाउँलेले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् । मिथिला नगरपालिका ५ श्रीपुर रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् ।