उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेकी छन् । उपसभामुख तुम्बाहाङफे संसद सञ्चालन तथा सभामुख निर्वाचनबारे सत्तारुढ दलसँग छलफल गर्न बालुवाटार पुगेकी हुन् ।
उपसभामुखले सत्तारुढ दलका अध्यक्षसँग छलफल आयोजना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसअघि रिक्त सभामुख पदमा कसले उम्मेदवारी दिने भन्नेमा सत्तारुढ दलभित्र एकमत नहुँदा प्रतिनिधि सभा बैठक पटकपटक सर्दै आएको थियो । प्रतिनिधि सभाको अर्को बैठक पुस २७ गते आइतबारका लागि बोलाइएको छ । पटकपटक संसद बैठक स्थगित हुँदा त्यसको राम्रो सन्देश नजाने भन्दै उपसभामुख तुम्बाहाङ्फेले सदन सुचारु गर्न सत्तारुढ दलका नेता र प्रधानमन्त्रीसँग छलफल आयोजना गरेको उपसभामुखको सचिवालयले जनाएको छ ।
सत्तारुढ दल नेकपाले सभामुखको रिक्ततापछि आफ्नै पार्टीका तर्फबाट सभामुखमा उम्मेदवारी दिने भनेपनि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन् ।
सत्तारुढ दल उपसभामुख तुम्बाहाङ्फेलाई समेत राजीनामा गर्न लगाएर उपसभामुखमा अन्य पार्टीलाई प्रस्ताव गर्ने पक्षमा छ । तर, उपसभामुख तुम्वाहाङ्फे आफै पनि सभामुखका लागि दावी पेश गर्दै आएकी छन् । उपसभामुख तुम्बाहाङ्फेले आजै राजीनामा गर्नसक्ने सम्भावना रहेको छ ।