प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताएका छन् । उद्योग सङ्घ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौँडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताए ।
मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न प्रदेश नं ३ सरकार लागिरहेको बताए । उनले हेटौंडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश नं ३ मातहत ल्याउन प्रयास भइरहेको भए पनि केन्द्र सरकारमार्फत हस्तान्तरण हुन बाँकी रहेकाले ठोस् कदम चाल्न नसकिरहेको प्रस्ट पारे । उनले निजी क्षेत्रलाई प्रोत्साहन गरेमात्रै देशले आर्थिक उपलब्धि हासिल गर्नसक्छ भन्ने कुरामा आफू जानकार रहेको बताउँदै देशको अर्थतन्त्रमा निजी क्षेत्रको ६२ प्रतिशत योगदान रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्न यहाँको औद्योगिक विकास आवश्यक रहेको बताए ।