नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुष ।
नेपाल कर्मस क्याम्पसको बिबिए कार्यक्रमका नवनियुक्त निर्देशक डा.गोपाल थापाले पदभार ग्रहण गरेका छन् । केही समयदेखि रिक्त रहेको उक्त पदमा नवनियुक्त निर्देशक सहप्राध्यापक डा. गोपाल थापाले शुक्रवार पदभार ग्रहण गरेका हुन् ।
नवनियुक्त निर्देशकको पदस्थापन कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय सभापति प्राध्यापक वसन्तकुमार ढकालले क्पाम्पस प्रशासनमा भएका कमी–कमजोरी सुधार गरी सबैसँग मिलेर शैक्षिक गुणस्तर सुधार गर्नमा विशेष जोड दिन सुझाव दिए । साथै उनले नवनियुक्त निर्देशकको कार्यकाल विद्यार्थी र शिक्षकको गोठालो लाग्ने काम मात्र नहोस् भन्दै नवनियुक्त निर्देशक थापालाई सफल कार्यकालको लागि शुभकामना दिए ।
त्यसैगरी, कर्मस क्याम्पसका प्रमुख जीवनकुमार भट्टराईले आज क्यामसको बिबिए कार्यक्रमको रिक्त निर्देशक पदमा अत्यन्त एकेडेमिक र उक्त पदका लागि उपयुक्त व्यक्तित्व डा.गोपाल थापालाई पाएर अत्यन्त खुसी लागेको र क्याम्पस प्रशासनका तर्फबाट पदस्थापन गराइएको जानकारी दिए । उनले नवनियुक्त निर्देशक सहप्राध्यापक डा. गोपाल थापालाई सफल कार्यकालको लागि शुभकामना दिदै सबैसँग मिलेर क्याम्पसको गरिमालाई अझ माथि उठाउन पनि सुझाव दिए ।
त्यसैगरी, प्रगतिशील प्राध्यापकतर्फबाट उपप्राध्यापक कृष्ण ओझाले लामो समयदेखि छलफल, वहस र सहमतिपश्चात योग्यहरूको बीचबाट पनि योग्य एउटा व्यक्तित्व सहप्राध्यापक डा.थापालाई बिबिए कार्यक्रमको निर्देशकका रूपमा पदस्थापन गरेको बताए । उनले भने ‘उहाँ यो कार्यक्रमका लागि नयाँ मान्छे पनि होइन, आज भन्दा १२ वर्ष अगाडि यही क्याम्पसमा उपनिर्देशकको रूपमा आफ्नो बल, बुद्धि, विवेक र समयलाई उपयोग गरेर यस कार्यक्रमको उन्नतिका लागि लाग्नु भएकै हो ।’ व्यक्ति स्वयमले सबै काम गर्छु भनेर मात्र सम्भव नहुने भन्दै प्राध्यापक पोखरेलले भने ‘उहाँको नेतृत्व त्यसमा सामेल भएका प्राध्यापकहरू, उपनिर्देशक, प्रशासनिक कर्मचारीहरू र क्याम्पस प्रशासनसहितको सकारात्मक सहयोग भए मात्र यो कार्यक्रमको उन्नति प्रगति हुन्छ ।’ साथै, उनले नेपाल कर्मस क्याम्पसको बिबिए कार्यक्रम नेपालकै पहिलो बिबिए कार्यक्रम भएकाले डा.थापाको कार्यकालमा यसको नतिजा पनि पहिलो नम्बरमा आउने विश्वास व्यक्त गरे ।
पदभार ग्रहणका क्रममा नवनियुक्त निर्देशक थापाले सबैको शुभकामनाले आफूलाई यो अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै यो अवसरलाई गुम्न नदिने बताए । ‘अहिले मेरा सामु जति पनि कमी–कमजोरी र चुनौतीहरू छन् तिनीहरूलाई म अवसरका रूपमा लिने छु । इनपुट नराम्रो भए आउटपुट पनि नराम्रो नै आउँछ ।’ उनले अगाडि भने ‘धेरै वर्ष बिबिएमा काम गरेको र स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा अध्यापन गराएको अनुभवले पनि कमजोरीहरू पहिचान गरी तिनलाई सुधार्दै जान मद्दत गर्ने छ ।’
साथै, उनले असन्तुष्ट शिक्षकबाट सन्तुष्ट विद्याथीहरू तयार गर्न नसकिने बताउँदै बिबिएलाई सुधार्न आफ्नोतर्फबाट हरसम्भव प्रयास हुने विश्वास व्यक्त गरे । ‘पढ्न आएका विद्यार्थीहरू र पढाउन आएका शिक्षकहरू राम्रो भैइदिए सबै राम्रो हुन्छ’ उनले भने ‘यो कुर्सी हिजो कसैको थियो आज मेरो छ भोलि अरू कसैको हुने छ । तर मैले छोडेर जाँदा पनि आज यस पदमा आउँदा जसरी क्लिन छु जाँदा पनि यसरी नै क्लिन भएर जान पाऊँ । भ्रष्टचारको मामलामा गोपाल थापा कतै पर्दैन, ढुक्क हुनुहोस् । म लोभ गरेर यस पदमा आएको होइन, बलिदान गरेर आएको हुँ । मेरो कार्यकालमा म विद्यार्थी र शिक्षक कसैलाई पनि अन्याय हुन दिने छैन् ।’