नेपाली दर्शककै मायाले गर्दा भोजपुरीमा ठाँउ पाएः विराज भट्ट, नायक

सत्तरीको दशमा नेपाली रजतठमा एकछत्र राज गर्न सफल भएका नायक विराज भट्टले पहिचानको दायरा बढाएका छन् । चलचित्र साङ्लोमार्फत उनले निर्देशकको रूपमा पनि रजतपठमा डेव्यु गरेका छन् । माघ २४ बाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा विराजले निर्देशनसँग अभिनय पनि गरेका छन् । पछिल्लो समय भोजपुरी चलचित्रमै व्यस्त रहेका उनले चलचित्रमा अभिनयसँग निर्देशनको जिम्मेवारी वहन गर्दा दौडधुप बढी हुने गरेको आफ्नो अनुभव सुनाए । विराजले भने ‘दिमागमा एक किसिमको प्रेसर परिरहने रहेछ । कलाकार जुटाऊ, प्राविधिकको पर्फमेन्स हेर, लाइट हेर, आफैं नै तयारी होऊ ।’ चलचित्र साङ्लोमा लगानीसमेत गरेका उनले सबैको मेहनतले चलचित्र उत्कृष्ट बनेको सुनाए । ‘दर्शकहरूबाट पनि निकै सकारात्मक प्रतिक्रिया पाएको छु । ’नेपाली चलचित्रमा लामो ग्याप भएकोले दर्शकले मलाई खोजेको पाएँ । सायद चलचित्रले पनि दर्शकलाई निराश बनाउने छैन’ विराजले सुनाए । हाल चलचित्र साङ्लोको प्रचार प्रसारमा रहेका नायक, निर्माता तथा निर्देशक विराज भट्टसँग नवकान्तिपुर डटकमका राजु लामिछानेसँग भएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईले निर्देशन गरेको चलचित्र ‘साङ्लो’ को एक गीतको ट्रेलर सार्वजनिक भैसकेको छ । कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
चलचित्रको गीत त दर्शकको मुखमा झुण्डिइसकेको छ । मलाई ट्रेलरलाई दर्शकले कुन रूपमा लिनुहोला भन्ने एक किसिमको चिन्ता लागिरहेको थियो । तर ट्रेलरलाई पनि दर्शकले निकै रूचाइदिनुभयो । नेपाली चलचित्रमा विराजको कमव्याकको रूपमा दर्शकले हेरिदिनुभएको छ । मेरा फ्यानहरूले त रूचाउनुभयो नै, अन्य दर्शकहरू र विशेष गरी नयाँ पुस्ता`ले पनि ट्रेलरको प्रशंसा गरिदिनुभएको छ । दर्शकको प्रतिक्रियाले उत्साहित भएको छु ।



दर्शकको माया पाइरहँदा भोजपुरी चलचित्रतिर लाग्नुभयो । अहिले सोच्दा नेपाली चलचित्रलाई माया नमारेको भए हुनेरहेछ जस्तो लाग्दैन ?
मैले नेपाली चलचित्रलाई माया मारेकै छैन । नेपाली दर्शकको मायाकै कारण भोजपुरी चलचित्रमा अफर आएको हो । अफर आइहाल्यो, एउटा गरौं न त भनेर भोजपुरी चलचित्र खेलेको थिए । बिस्तारै उताका दर्शकले पनि रूचाए । व्यस्थता बढ्दै जाँदा दुबैतिर समय दिन चाहन्थे । तर पनि ग्याप भैहाल्थ्यो ।

आर्थिक हिसावले पनि भोजपुरीमा आकर्षक पारिश्रमिक पाइन्छ भनिन्छ । त्यसैले पनि उता बढी समय दिनुभएको हो ?
मैले भोजपुरी चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा पनि भनेको थिए, म रेमिट्यान्स भित्र्याउन त्यता गएकोे हो भनेर । त्यो क्षेत्र मेरो वैदेशिक रोजगारी जस्तै हो । नेपालभन्दा आकर्षक पारिश्रमिक नभए त काम गर्ने कुरै आउँदैन थियो । तर कुरा परिश्रमिकको भन्दा पनि आफ्नो कला उता पनि देखाउँ भन्ने थियो । नेपालमा लगातार धेरै चलचित्र आएकोले थोरै समय ग्याप लिंदा राम्रो होला भन्ने सोच पनि थियो । त्यसैले भोजपुरी चलचित्र क्षेत्रमा प्रवेश गरेको हो ।

लामाे समयपछि एउटा फिल्म त खेल्नुभयो, फेरि भोजपुरीतिरै हराउने हो की भन्ने चिन्ता पनि तपाईका फ्यानहरूको छ । के भन्नु हुन्छ ?
म अब भोजपुरीतिर जाँदै जान्न त भन्दिन । तर नेपाली चलचित्र खेल्न ग्याप भने गर्दिन । अफर आएसम्म वर्षको १, २ ओटा चलचित्र नियमित खेल्ने सोच छ ।

‘साङ्लो’ मार्फत निर्देशनमा पनि हात हाल्नुभएको छ । कस्तो रह्यो अनुभव ?
चलचित्र निर्देशन भन्ने कुरा ख्यालख्यालको कुरा हैन । कलाकारीताको लामो अनुभवले मैले निर्देशन गर्ने आँट गरेको थिएँ । कलाकारको रूपमा मात्र चलचित्रमा रहदाँ कुनै प्रेसर हुँदैन । निर्देशले जे भन्छ त्यो गर्यो, सकियो । आफ्नो सिनलाई न्याय गर्नेमात्र चिन्ता हुन्छ । तर निर्देशकको रूपमा चलचित्रको जिम्मा लिँदै गर्दा बढी प्रेसर फिल गरेंं ।

निर्देशनसँगै मुख्य कलाकारमा पनि आफैं हुनुहुन्छ । निर्माताको जिम्मेवारी पनि थियो, त्यसैले बढी प्रेसर फिल गर्नुभएको हो की ?
पक्कै पनि एउटा मात्र जिम्मेवारी लिएको भए अलिक सहज हुने थियो । तर आफ्नै चलचित्र निर्देशन गर्दा लगानीकै कारण कतै पनि बाँधिनु पर्दैन, त्यो एउटा सहज थियो । चलचित्र भनेको टिमवर्क हो । सबै साथीहरूको सहयोगले काम राम्रो बनेको छ । अहिले दुःख बिर्सिएको छु । कामको मूल्यांकन गर्ने बेला आएको छ । त्यसमै खुसी छु ।

चलचित्र निर्देशनकै लागि अफर आए के गर्नु हुन्छ ?
म कलाकार हुँ । त्यसैले चलचित्र खेल्ने काम नै मेरो प्राथमिकतामा पर्छ । निर्देशनको अनुभव पनि लिइयो । यसलाई नै पेशा बनाउने सोच छैन । तर पनि चित्त बुझ्दो टिम र स्क्रीप्ट आएमा विचार गर्न सकिन्छ । फेरि पनि भन्छु चलचित्र निर्देशनभन्दा अभिनय नै मेरो प्राथमिकतामा पर्छ ।

निर्देशनको पाटोलाई हेर्दा कलाकारहरूबाट काम लिन कत्तिको सहज हुँदोरहेछ ?
मैले चलचित्रको स्क्रीप्टमा बस्दादेखि नै कुन क्यारेक्टरको लागि कुन कलाकार फिट हुन्छ भन्ने कल्पना गरेर लेख्न सहयोग गरेको थिएँ । त्यसैले पनि कलाकारबाट आफुले सोचेभन्दा राम्रो काम पाएँ । चलचित्रमा कामेश्वर चौरासिया एक प्रहरी निरीक्षकको भूमिकामा छ । उसको काम निकै प्रशंसनीय भएको छ । साथै निकिता चण्डक, जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, अमित गिरी, शिशिर भण्डारीलगायत सबैले आ–आफ्नो भूमिकालाई न्याय गर्नुभएको छ । एक कलाकार भएकोले अर्को कलाकारबाट आफूले खोजेको कला निकाल्न खासै समस्या भएन ।

अन्त्यमा, चलचित्र साङ्लोबाट कत्तिको आशावादी हुनुहुन्छ ?
चलचित्र एक्शन प्रधान नै छ । दर्शकले मबाट एक्सन सिनकै बढी आशा गर्नुहुन्छ । ट्रेलरमार्फत पनि मेरो एक्शनको निकै तरिफ गर्नुभएको छ । दर्शकको उत्साहको आधारमा भन्नुपर्दा त निकै आशावादी छु । तर पनि मैले चलचित्रमा जे जति मेहनत गरेँ, त्यसले दर्शकलाई निराश बनाउँदैन भन्नेमा ढुक्क छु । चलचित्रको कन्टेन्ट र एक्सन राम्रो भएकोले मेरा फ्यान मात्र होइन अन्य सबै दर्शकलाई पनि चलचित्र राम्रो लाग्नेछ भन्ने आशा छ । हामीले हाम्रो तर्फबाट सक्दो मेहनत गरेका छौं । हेरौंं, दर्शकहरूले कुन रूपमा लिनुहुन्छ ।

 

सम्बन्धित समाचार