सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार टुङ्गो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्यौलमा परेको छ । कार्यतालिकाअनुसार सभामुखको निर्वाच्न प्रक्रिया शुरु गर्न प्रतिनिधिसभाको बैठक (आज) आइतवार बस्नुपर्ने हो । तर नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसकेकाले बैठक बोलाउने, नबोलाउने अन्यौल बढेको संसद् सचिवालय स्रोतले जनाएको छ ।
सभामुख चयनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान नछाडेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । ओली सरकार सञ्चालनमा सहयोग पुग्नेगरी आफूले चाहेको पात्रलाई नै सभामुख बनाउने अडानमा छन् । बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओली स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि सभामुख चयनबारे कुनै छलफल हुन सकेन ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेर मात्रै उक्त बैठक टुङ्गियो । ओली मिर्गौला डायलाइसिस गराएर आरम गरिरहेका कारण बैठकमा उपस्थित नभएका हुन् । बैठकमा कार्यकारी अध्यक्ष दाहालले ओलीकै सहमतिमा उपसभामुखलाई पदबाट राजीनामा दिन आग्रह गर्ने प्रस्ताव गरिएको स्पष्ट पारे ।
नेकपाले सभामुख पदमा उम्मेदवारी दिन पनि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ । उपसभामुख पदबाट उनले राजीनामा नदिए नेकपाले सभामुख पद गुमाउन सक्छ ।