नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुष ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाइएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको बिषय दुःखद छ । यसलाई नेपाली कांग्रेसले सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको जनाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ । तर ३ महीना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छाँया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।’
स्वयं सत्तापक्षका कारण महीना दिन देखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिंदै नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको लागि कुरा नमिलेपछि आइतवारका लागि तय भएको प्रतिनिधि सभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको हो ।