नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले बुझाएको ज्ञापनपत्र आज बुझ्दै उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए । ‘सुशासनलाई अगाडि बढाउन र संविधानको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्छ’, उनले भने ।
वरिष्ठ नेता पौडेलले सरकारसँग असन्तुष्ट भएका जनतालाई कांग्रेसमा आकर्षण गर्नुपर्ने बताए । सरकारलाई भ्रष्टाचारमुक्त र कांग्रेसलाई विकृतिमुक्त बनाउनुपर्ने उनको भनाइ थियो । उनले पार्टीको १४औं महाधिवेशन विधिसम्मत रुपमा तोकिएको समयमा हुनुपर्ने उल्लेख गरे ।
पार्टीलाई सुधार गर्नका लागि आफू विधान कार्यान्वयनका पक्षमा उभिएको उनको भनाइ थियो । पार्टीका नेता प्रकाशमान सिंहले विधिविधानअनुसार चल्न नसक्दा कांग्रेस दिनानुदिन कमजोर बन्दै गएको बताए । ‘सिद्धान्त, आदर्श र संविधान निर्माणको नेतृत्व गरेको पार्टीको वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न सक्दैन’, उनले भने ।