भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले फेरि हिउँदे झरी शुरु हुने भएको छ । गत शुक्रवारबाट रोकिएको झरी फेरि शुरु हुने भएको हो ।
पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो । यो चौंथो चरणको झरी गराउने वायु हो ।
सोमवार भने दिनभर पहाडी भू–भाग सामान्यतया सफा नै रहने र तराईका भूभागहरुमा भने हुस्सु लाग्ने सम्भावना रहेको छ ।
यसैगरी, रातिबाट देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । पश्चिमी पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ ।
सोमवार रातिबाट शुरु हुने उक्त वायुको प्रभाव बिहीवार र शुक्रवारसम्म फैलने पूर्वानुमान महाशाखाले जनाएको छ ।