कांग्रेसभित्रको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले पहल थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग पार्टीभित्रको आन्तरिक विवाद मिलाउन आइतवार बिहान उनले छलफल गरेका छन् ।
‘संवाद र वार्तालाई जारी राख्ने कुरा भएको छ। सहमतिका लागि पहल भइरहेको छ। चाँडो गृहकार्य गरेर टुंग्याउने भन्ने कुरा भयो,’ बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने । उनले पार्टीभित्रको संवादहीनता अन्त गर्न सभापतिसँगको छलफलले सकारात्मक भूमिका खेलेको बताए । देउवाले बहुमतको आडमा पेलेर जान खोजेको भन्दै पौडेल र सिटौला समूहले पार्टीको केन्द्रीय समिति बैठकदेखि औपचारिक कार्यक्रमहरू बहिस्कार गर्दै आएका छन् ।
महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने भन्दै मंसिर २६ गतेदेखि सुरु केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको थियो । देउवाले पुस ११ को केन्द्रीय समिति बैठकबाट १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक, स्थानीय र केन्द्रीय महाविधेशनका लागि पार्टीको विधानका केही धारा निलम्बन, विभागको संख्या २८ बाट बढाएर ४७ पुर्याउनुका साथै नेपाल तरुण दलको कार्यकाल ६ महिना थप गर्ने निर्णय गराएका थिए । सहमतिबिनै सभापति देउवाले पार्टीलाई अगाडि बढाउन खोजेको भन्दै पौडेल र सिटौला पक्ष थप चिढिएको थियो ।
पछिल्लो समय देउवा, पौडेल र सिटौलाबीच सामूहिक छलफल भएको थिएन। ‘सभापतिको पहलमा छलफल भयो। संवाद र सहमतिबाटै कांग्रेसभित्रको विवाद मिलाउने सहमति भएको छ,’ बैठकमा सहभागि कांग्रेस नेता रमेश लेखकले भने, सहमतिका लागि कार्यदललाई जिम्मेवारी दिइएको छ। कार्यदलले सहमतिका लागि पहल गर्नेछ।’
देउवाले उपसभापति विमलेन्द्र निधि र पौडेलले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कार्यदल बनाएका थिए । पौडेल स्वास्थ्य उपचारका लागि सोमवार दिल्ली जाँदैछन् । कार्यदललाई उनी फर्किदासम्म सहमतिमा पुग्न निर्देशन दिइएको छ । यसअघि पार्टीभित्र शीर्ष तहमा संवादका लागि युवा नेताले पहल गरेका थिए ।