कसले दियो भीम रावललाई ज्यान मार्ने धम्की ? प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा भन्छन्- ‘मन्त्री हुन नपाएको आक्रोश पोखे’

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताएसँगै कस्ले धम्की दियो भन्ने अनेकन अड्कलबाजी भएका छन् । सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा जीवनराम भण्डारीसँग कुरा गर्दै रावलले एमसिसी सम्झौताको विरोध गर्दा र राष्ट्र हितको कुरा उठाउँदा बेलायती युवाराज्ञी लेडी डायनाको जस्तो हालत हुने धम्की आएको बताएका थिए ।

रावलले उल्लेख गरेको लेडी डायनाको प्रसंग र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केहीदिनअघि लेखेको फेसबुक स्टाटस हेर्दा यो प्रकरणको तस्बिर केही हदसम्म प्रष्ट देखिन्छ।



रावलले भनेका छन- मैले यो कुरा गर्दा तपाईंले अघि अलिकति छुनु भएको थियो। मलाई मेरो ज्यानको समेत धम्की दिइएको छ। बालुवाटारमा बस्ने व्यक्तिबाट। लेडी डायनाले जसरी ज्यान गुमाउनु पर्‍यो तिमीले पनि ज्यान गुमाउला भनेर बालुवाटारसँग सम्बद्ध व्यक्तिबाट मलाई धम्की दिइएको छ। यो बिडम्बना हो तर त्यस्तो भन्ने व्यक्तिहरूले के कुरा पनि सम्झनुपर्छ भने पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिष्ट आन्दोलन र देशभक्तिपूर्ण आवाजहरू हराएर गएनन् भन्ने कुरा स्मरण गर्नुपर्छ। मदन भण्डारीलाई गाडी दुर्घटनाको अनेक नाटक मञ्चन गरेर दासढुंगामा हत्या गरेर मदन भण्डारीका देशभक्त पूर्ण आवाज नेपाली धर्तीबाट मेटिएका छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेहरूले राम्ररी स्मरण गर्नुपर्छ।

म त्यसबारे डराउन्न। म प्रत्येक व्यक्तिलाई के कुराको पनि स्मरण गराउन चाहन्छु भने यो धर्तीमा कोही व्यक्ति पनि अजर अमर छैन भन्ने कुराको पनि प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ। यहाँ खोलिने राजनीतिक दल, हामी राजनीतिक दलका सदस्य, प्रतिनिधि सभाका सदस्यहरू माध्यममात्र हौं। नेपाल जो हाम्री आमाभन्दा पनि ठूली छन्। ठूली ठान्छौं हामी योमात्रै धेरै लामो कालसम्म अस्तित्वमा रहन सक्छ।

हुन त पृथ्वीको अस्तित्व पनि कुनै निश्चित छैन। यो पनि हामीलाई थाहा छ, यो ब्रम्हाण्डमा पनि परिवर्तन भइरहन्छ त्यो पनि हामीलाई थाहा छ हामीले बुझेका छौं तर आजको विश्व कार्ल मार्क्सले भनेजस्तो देशका सीमाना मेटाऔं अब भन्नेजस्तो अवस्थामा पुगिसकेको छैन। त्यो नपुगिसकेको र अमेरिकाले म अमेरिका फर्स्ट, मेरो अमेरिका महान् भन्ने भारतका प्रधानमन्त्रीले मेरो भारत महान् भन्ने, चीनका राष्ट्रपतिले मेरो चीन महान् भन्ने आफ्नो देशको हितअनुकूल काम गर्ने अनि हामी नेपालीले राष्ट्रको हितको कुरा गर्दा, देशको स्वाधिनताको कुरा गर्दा अखण्डताको कुरा गर्दा नझुकौं, नलत्रियौं, हामी उभिएर देशको स्वार्थको कुरा गरौंभन्दा भीम रावलले पापाराजीको, लेडी डायनाकोजस्तो अवस्थामा पुग्ने भनेर बालुवाटारमा बस्ने मान्छेले भन्दा प्रत्येक देशभक्त व्यक्तिहरूको मन रोएको हुनुपर्छ। तर म रोएको छैन म दृढ छु त्यसमा यी कुराहरू भनेका कस्ता हुन् भने यस्तै कुराले देश कमजोर हुन्छ कतिपय देशको अस्तित्व गुमेको हामीले देखेका छौं।

मैले के ठानेको थिएँ भने यसको पक्षमा आवाज उठाउँदा धन्यवाद दिनुपर्ने भन्ने ठानेको थिएँ। उल्टो ज्यानको पो धम्की आएछ। म त्यस्तो ज्यानको धम्की दिनेहरू निरंकुश व्यवस्थामा पनि थिए। होला मानिसको भौतक शरिर जान पनि सक्छ तर त्यो भन्ने व्यक्तिहरूले के कुरा हेक्का राख्नुपर्छ भने मान्छेका विचारहरू खासगरी राष्ट्र र जनताको मतमा अभिव्यक्त विचारहरू कसैको धम्की र कसैको निरंकुश व्यवहारबाट मेटिदैँनन् । हराएर पनि जाँदैनन् । यो कुरा प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ। यो एउटा प्रमाणित कुरा हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने रावलको भनाइ मन्त्री हुन नपाएको आक्रोश भएको बताएका छन्।

‘मैले उहाँले कविता लेखेको प्रसंगमा त्यो कुरा उल्लेख गरेको हो। यही विषयलाई लिएर ज्यान मार्ने धम्की आयो भन्नुभएछ। गृह र रक्षा मन्त्री भइसकेको व्यक्ति जसले कार्यविधि मिचेर अगाडि पछाडि सुरक्षाकर्मी लिएर हिँडिरहेको छ। त्यस्तो व्यक्तिलाई कसले धम्की दिन्छ होला,’ थापाले भने,‘बालुवाटारबाट कसैले धम्की दिएको छैन। धम्की दिनु पनि हुँदैन। यो सबै मन्त्री नपाएको रिस पोख्नुभएको हो।’

सम्बन्धित समाचार