कार्यकर्ताले पूर्व एमाले र पूर्व माओवादी भन्ने भावना त्याग्नुपर्छ: प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न कम्युनिष्ट पार्टी नेतृत्वको सरकार लागिपरेको बताएका छन् ।

नेकपा तनहुँले आज दमौलीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले संविधानले परिकल्पना गरेको समाजवादमा पुग्नका लागि सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको बताए ।



नेकपा सचिवालय सदस्यसमेत रहेका प्रवक्ता श्रेष्ठले कम्युनिष्ट पार्टीले नेतृत्व गरेको प्रदेश तथा स्थानीय सरकारले जनताको आधारभूत आवश्यकता र जनजीविकाको पक्षमा काम गर्नुपर्ने बताउँदै जनताको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको विकास गर्नु नै समाजवादको मूल उद्देश्य हो भने ।

पार्टी एकताको अर्थ, महत्व र औचित्यलाई सबै कार्यकर्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उनले सबै कार्यकर्ताले पूर्वएमाले र पूर्व माओवादी भन्ने भावना त्याग्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टी नेतृत्वको स्थानीय तहले काम गर्दा जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार