नवकान्तिपुर संवाददाता
काठमाडौं, १ माघ ।
थारू र मगर समुदायहरूले माघ महिनाको पहिलो दिन आज माघे संक्रान्तिलाई माघी पर्वको रूपमा मनाएका छन् । काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी मगर र थारू समुदायहरूले शुभकामना आदान प्रदानसँगै साँस्कृतिक नित्यृसमेत प्रस्तुत गरेका छन् ।
माघे संक्रान्तिलाई अदिवासी समुदायहरूले आफ्नो बितेका पुर्खाहरूको पूजा अर्थात् पितृ पूजा गर्ने, छोरीचेलीलाई दक्षिणा दिई सत्कार गर्ने र प्रकृतिसँगको आफ्नो सम्बन्ध प्रगाढ बनाउने गर्दछन् । थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँने गरेका छन् ।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघे संक्रान्ति अर्थात् माघी पर्वलाई नेपाल सरकारले पनि २०६५ सालमा मगर र थारू समुदायहरूको राष्ट्रिय पर्व घोषणा गरेको थियो ।