कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको अनुदानमा भइरहेको दुरुपयोग सरकारले रोक्ने बताएका छन् । धेरै ठाउँबाट कृषि अनुदानको दुरुपयोग भएको कुरा आइरहेकाले यसतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै उनले किसानले पाउने अनुदानको दुरुपयोग हुन नदिइने बताए ।
रुपन्देहीको सियारी गाउँपालिकामा बुधवारदेखि शुरु भएको मत्स्य एवं कृषि महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले नेपालको कृषि क्षेत्रलाई आजको आवश्यकता सम्बोधन हुनेगरी आधुनिक ढङ्गले अघि बढाउन सरकारले प्रयत्न गरिरहेको पनि बताए ।
कृषिको यान्त्रीकरण र आधुनिकीकरण आजको आवश्यकता हो, यान्त्रीकरणबिना कृषि उत्पादन बढ्न सक्दैन, उनले भने, किसानलाई व्यावसायिक बनाउन यान्त्रीकरणको विकल्प छैन ।
उनले बीउबिजनसम्बन्धी राष्ट्रिय नीति र गतिविधिलाई सङ्घीय ढाँचाअनुरूप बनाउन आवश्यक सबै खालका कानुन संशोधन गर्ने पनि बताए । बीउबिजनसम्बन्धी हाम्रा नीति र गतिविधि सङ्घीय ढाँचाअनुरूप बनाउनुपर्ने पनि उनले बताए ।
मन्त्री भुसालले माछा उत्पादक कृषकलाई प्रोत्साहन गर्नेगरी सरकार अघि बढ्ने र त्यसका लागि बजारीकरणमा जोड दिन सरोकारवालालाई आग्रहसमेत गरेका छन् । माछामा पर्याप्त सम्भावना हुँदाहुँदै पनि भारतीय माछा आयात हुनु मुलुकका लागि दुर्भाग्य भएको उनले बताए ।