सभामुख छनोटबारे ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको संवादहीनताको अवस्था अन्त्य भएको छ ।

गत आइतवारदेखि दुई अध्यक्षबीच देखिएको संवादहीनताको अवस्था विहीवार (आज) हटेको हो । दुई अध्यक्षबीचको सम्बन्धमा दरार उत्पन्न भएको समाचारहरु सार्वजनिक भइरहँदा नेकपाका दुई अध्यक्षबीच आज भेटवार्ता भएको हो ।



प्रधानमन्त्री ओलीसँगको छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । साढे १२ बजेबाट दुई अध्यक्षबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाका दुई जना अध्यक्षबीच अहिले भेटवार्ता जारी रहेको छ ।
‘पार्टीका दुई अध्यक्षबीच अहिले भेटवार्ता जारी छ’ सल्लाहकार थापाले भने,‘सभामुख चयन, एमसीसी लगायतका विषयमा कुराकानी हुनेछ ।’

नेकपामा सभामुख चयनका विषयमा विवाद देखिएको छ । ओली सभामुखमा सुवास नेम्वाङलाई ल्याउन चाहन्छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउन अडान लिएका छन् । उता उपसभामुख तुम्बाहाङ्फेलाई सभामुख बनाउनु पर्ने लविङ राष्ट्रपति कार्यालय शीतलनिवासबाट भएको कारण समस्या उत्पन्न भएको नेकपाका नेताहरुको भनाइ छ ।

नेकपाका दुई अध्यक्षबीच आइतवार यता छलफल हुन सकेको थिएन । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपा सचिवालय बैठकले शनिवार गरेको निर्णयपछि आइतवार दुई अध्यक्षसहित उपसभामुख तुम्बाहाङ्फेको बैठक बालुवाटारमा बसेको थियो । तर उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेकी थिइन् ।

प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन स्पष्ट निर्देशन नदिएको भन्दै अर्का अध्यक्ष प्रचण्ड ओलीसँग रिसाएका उनी निकट नेताहरुले बताउँदै आएका थिए ।

सम्बन्धित समाचार