सभामुख पदलाई प्रतिष्ठाको विषय बनाएर पार्टीभित्र विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहलाई नै उक्त पद दिने संकेत गरेका छन् । स्रोतका अनुसार पूर्वएमाले समूहका मुख्य नेताहरुसमेत अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर आफूविरुद्ध गठबन्ध बनाउन थालेपछि प्रधानमन्त्री दबाबमा परेका थिए ।
‘सरकार सहज हुने गरी संसद संचालन गर्ने प्रतिवद्धताका आधारमा सभामुख पूर्वमाओवादीलाई पनि दिन सकिन्छ भन्ने सोचाइमा प्रधानमन्त्री पुग्नु भएको छ,’ एक नेताले भने। बोलचालै नभएको पाँच दिनपछि बिहीवार ओली र दाहालले करिब साढे दुई घण्टा छलफल गरेका थिए ।
‘बिहीवारको घटनाक्रम जसरी अघि बढेका छन्, त्यसलाई हेर्दा पूर्वमाओवादी समूहमै सभामुख पद रहने देखिएको छ,’ पूर्वएमाले समूहकै एक नेताले भने, ‘बरु अहिले चर्चामा रहेका पात्रहरु भन्दा फरक व्यक्तिको नाम सभामुखमा आउन सक्छ ।’
माओवादी पक्षबाट दाहालले अग्नी सापकोटालाई अघि सार्न खोजेका छन्। सापकोटाको प्रतिस्पर्धीको रुपमा पम्फा भुसालसँगै अब हरिबोल गजुरेलको नामसमेत भित्रिएको स्रोतको दाबी छ ।
दाहालले बिहीवार बालुवाटारबाट फर्केपछि आफूनिकट नेताहरुलाई वार्ता सकारात्मक भएको र मिलेरै अघि बढ्ने समझदारी बनेको सन्देश दिएका थिए।
ओली र दाहालबीच आज पनि छलफल हुँदैछ। दुई अध्यक्षको छलफलबाटै सभामुख टुंगो लागे त्यसलाई औपचारिकता दिन सचिवालयको बैठक बस्ने छ। उम्मेदबार तय भएको अवस्थामा उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि राजीनामा दिने बताइसकेकी छन्।