भारतको बहराईचमा रहेको एक होटलमा बुधवार मृत अवस्थामा भेटिएका बाँकेको कोहलपुर-१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काले आत्महत्या गरेको पुष्टि भएको छ । कोहलपुर नगर कार्यपालिकाका प्रवक्ता माधव रिजालले खड्काले आत्महत्या गर्नुभन्दा अघि लेखेको सुसाइड नोट होटलमा फेला परेको जानकारी दिए ।
खड्काको मृत्युलगत्तै कोहलपुर नगरपालिका र नेकपाका नेता सम्मिलित टोली बुधबार बहराईच पुगेको थियो । टोलीमा सहभागी प्रवक्ता रिजालले बैंकमा ऋण भएका खड्काले बैंकबाट विभिन्नखाले यातना पाएका कारण आत्महत्या रोजेको चिठीमा उल्लेख गरेका छन् ।
श्रोतका अनुसार सिद्धार्थ बैङ्कमा वडाध्यक्ष खड्काको करिब २० लाख ऋण छ । खड्काको शव भारतमा औपचारिक प्रक्रिया पुरा गरि बिहिवार कोहलपुर स्थित निवासमा ल्याइएको छ । उनको शुक्रवार अन्तिम संस्कार गरिने भएको छ । खड्काले आत्महत्याका लागि उपयुक्त ठानेर बहराईचको शंकर होटल रोजेको पत्रमा उल्लेख गरेका छन् ।
स्थानीय निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका ६८ वर्षीय खड्का नेकपा जिल्ला कमिटी सदस्य समेत हुन् । खड्का मंगलवार बिहान जमुनाह नाकाबाट रुपैडिया प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।