सापकोटालाई अस्वीकार गरेका ओली गजुरेलमा मौन

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सभामुखमा सहमति गर्न नसक्दा सोमवारको संसद बैठक पनि प्रभावित हुने देखिएको छ । गत विहीवार र शुक्रवार भएको छलफल सहमतिको निकै नजिक पुगेको बताइएपनि सभामुख बनाउने व्याक्तिमा सहमति हुन सकेको छैन । आफूले चाहेको अग्नी सापकोटालाई ओलीले ठाडै अस्वीकार गरिदिएपछि विकल्पको रूपमा प्रचण्डले नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेललाई प्रस्ताव गरेका थिए । गजुरेलको नाममा ओली मौन रहेका थिए । साथीहरुसँग छलफल गरेर निष्कर्षमा पुगौंला भनेर ओली तर्किएका थिए ।

प्रधानमन्त्री ओली पूर्वमाओवादीलाई नै सभामुख दिन तयार भएजस्तो देखिए पनि उनको रणनीति अर्कै रहेको स्रोतको दाबी छ । ओलीले पूर्वमाओवादीभित्र सभामुख बन्न लायक व्याक्ति नभएको भन्दै घुमाई फिराई सुवास नेम्वाङलाई नै सभामुख बनाउन चाहन्छन् । सोही रणनीति अनुसार ओलीले सापकोटालाई विभिन्न मुद्दा विचाराधीन रहेको भन्दै इन्कार गरेका थिए । पूर्वमाओवादीका प्राय नेतालाई कुनै न कुनै मुद्दा लागेकोले सोही बाहनामा सभामुख बन्न लायक नभएको भन्दै आफूले चाहेकै व्याक्तिलाई सभामुख बनाउन ओलीले चाल चालेका छन् ।



‘सुरुमा अग्नि सापकोटाको नाम आएको थियो तर उहाँका विरुद्ध मुद्दा छ भन्ने भएपछि अर्को व्यक्ति खोजौं भन्ने कुरा भयो,’ प्रधानमन्त्री निकट एक मन्त्रीले भने, ‘त्यसपछि प्रचण्डले गजुरेलको नाम अघि सार्नुभएको छ तर प्रधानमन्त्रीले जवाफ दिनुभएको छैन ।’ ती मन्त्रीका अनुसार प्रधानमन्त्री अहिले पनि सुवास नेम्वाङकै नाममा अडिग छन् ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखको दाबेदारी प्रस्तुत गरिरहेकी छन् तर उनको नाममा अध्यक्ष दाहालले रुचि नदेखाएपछि तुम्बाहाङ्फेको सम्भावना क्षीण भइसकेको स्रोतहरू बताउँछन् । तुम्बाहाङ्फेले पनि सभामुखको उम्मेदवार तय हुनेबित्तिकै आफूले उपसभामुखबाट राजीनामा दिने बताइसकेकी छन् । यसअघि उनले आफैंलाई सभामुखको उम्मेदवार नबनाए उपसभामुखबाट पनि राजीनामा नदिने बताउँदै आएकी थिइन् ।

शुक्रवारको भेटमा प्रचण्डले यो विषयमा पनि कुरा उठाएका थिए । ‘कसको आडमा शिवमायाजी राजीनामा दिन्न भन्दै हिड्नुभएको छ ? तपाईले उचाल्नुभएको त हैन नि कम्रेड ?’ प्रचण्डको यस्तो प्रश्नमा ओलीले हामीले उम्मेद्वार खडा गरेपछि वहाँ बाधक बन्नुहुन्न भन्दै सम्झाएका थिए । शीतलनिवासको साथ पाएकोले शिवमाया हौसिएको हुनसक्ने भन्दै ओली आफू चोखो हुन खोजेका थिए ।

आफुले सिफारिस गरेका नेताहरुलाई ओलीले अस्वीकार गर्दै जान थालेपछि प्रचण्डले पार्टीका अर्का नेता माधव नेपालसँग फोन वार्ता गरेको स्रोतको दाबी छ । बामदेव गौतमबाट पनि साथ पाएको प्रचण्डले सभामुख प्रकरणबाटै पार्टीमा ओलीलाई एक्ल्याएर सबक सिकाउने रणनीतिमा लेगेको छन्, उनको सो रणनीतिमा नेपाल र गौतमले पनि साथ दिने भएका छन् । सभामुख प्रकरणले नै नेकपामा विद्यमान शक्ति सन्तुलनको स्थिति परिवर्तन हुने सङ्केत देखिएको छ ।

सम्बन्धित समाचार