उपसभामुख शिवमाया तुम्बाहाङफे अन्ततः पदबाट राजीनामा दिन तयार भएकी छन् । खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्णयानुसार उपसभामुख पदबाट राजीनामा दिने भएकी हुन् ।
उपसभामुख तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गर्दै राजीनामा दिने बताइएको छ । उपसभामुख तुम्बाहाङफेले सोमबार प्रतिनिधिसभा बैठक बस्नु अगाडि नै राजीनामा दिने तयारी गरेकी छन् ।
उपसभामुखका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार तुम्बाहाङफेले राजीनामा दिने निश्चित भइसकेको छ । ‘उहाँले राजीनामा दिने भनेर तयारी गरिसक्नु भएको छ,’ अधिकारीले भने, ‘सम्भवतः प्रतिनिधिसभा बैठक बस्नु अगाडि नै उहाँले राजीनामा दिनु हुन्छ होला ।’
प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दै छ । उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएमा सोमबार बस्ने बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने गरी तयारी भएको संघीय संसद सचिवालयका एक अधिकारीले जानकारी दिए ।