नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महत्वाकांक्षी र हक्की स्वभावका नेता वामदेव गौतमको हातमा संगठित कार्यकर्ताको जिम्मा लगाएको छ । मौजुदा नियमावलीमा संगठन विभागको अधिकार थप्ने प्रस्ताव गर्दै नेकपाले संगठन र पार्टी कार्यकर्ताको परिचालनको जिम्मा गौतम नेतृत्वको संगठन विभागलाई दिएको हो ।
हाल नेकपाले आफूसँग ८ लाख सदस्य रहेको दाबी गरेको छ। पार्टी सचिवालय सदस्य गौतम नेकपाका संगठन विभाग प्रमुख र प्रस्तावित उपाध्यक्ष हुन् । उनलाई उपाध्यक्ष बनउने गरी पुस पहिलो साता सम्पन्न स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित भएको छ ।
अब १५ माघमा बस्ने केन्द्रीय समितिबाट अनुमोदन भएपछि गौतम नेकपाको उपाध्यक्ष बन्नेछन् । त्यस्तै बैठकबाटै नियमावली संशोधनको प्रस्ताव अनुमोदन भएपछि गौतम उपाध्यक्ष र संगठन विभाग प्रमुखका रूपमा शक्तिशाली नेतासमेत हुनेछन् । यसअघि विभागलाई ६ वटा अधिकार रहेकामा थपिएर ११ बनाउन लागिएको छ।