जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रहेको र अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ ।
आज दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रहने र पश्चिमी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ । मध्ये र पश्चिमी उच्च हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको समेत पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । त्यस्तै राति देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाइएको छ ।
भोलि बुधवार दिउँसो मौसम सामान्यतया सफा रहने र तराईका भूभागमा हुस्सु र कुहिरो रहने उल्लेख गरिएको छ । आउँदो विहीवार दिउँसो मौसम सामान्यतया सफा रहने र तराईका भूभागमा हुस्सु र कुहिरोको प्रभाव भने रहने जनाइएको छ ।
विहीबार राति देशको पूर्वी भूभागमा आंसिक देखि सामान्य बदली रहने तथा बाँकि स्थानमा मौसम सामान्यतया सफा रहने उल्लेख गरिएको छ । आगामी २४ घण्टा उच्च हिमाली भेगमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको र देशका अधिकांश भूभागमा सामान्य बदली रहने भएकोले चिसोबाट बच्न पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।