जाडोबाट बच्नका लागि शहर बजारमा अहिले सबैभन्दा सजिलो माध्यम भनेको हिटर हो । तर यही सजिलो माध्यम मानिएको हिटर प्रयोग गर्न जानिएन भने ज्यानै जाने जोखिम पनि उत्तिकै हुन्छ ।
आजभोलि हिटर पड्किएको, हिटर बालेको कोठामा निस्सासिएर मृत्यु भएको, वाथरुममा हिटरको प्रयोग गरी नुहाउँदा ज्यान गुमाउनुपरेको जस्ता समाचारहरु आइरहेका छन् ।
जाडोमा पानी तताउन बाथरुममा राखिएको ग्यास गिजर वा कोठा तताउन प्रयोग गरिने हिटर लगायतले मानव स्वास्थ्यमा निकै असर पु¥याउने र ज्यानसमेत जान सक्ने भएकाले डाक्टरहरुले पनि सावधानी अपनाउन गरिरहेको पाइन्छ । त्यसैले हिटरलाई कसरी प्रयोग गर्ने भन्ने कुरा जानी राख्नु निकै जरुरी हुन्छ ।
यहाँ हिटर कसरी प्रयोग गर्ने भन्नेबारे केही जानकारी दिइएको छ–
– कोठा पूरै बन्द गरेर हिटर लामो समयसम्म हिटर बाल्नु हुँदैन ।
– हिटरलाई बेला बेलामा बन्द गर्ने र कोठा खोल्ने गर्दै गर्नुपर्छ । प्रयोग नभएको बेलामा हिटर बन्द गर्नु राम्रो हुन्छ । कोठा बन्द गरेर हिटर अन गर्दा त्यसबाट आउने कार्बन मोनोअक्साइडले मानिसको स्वास्थ्यमा निकै हानिकारक असर पार्छ ।
– हिटर नजिकै कुनै पनि कागज, ब्ल्यांकेटजस्ता बल्न सक्ने सामग्रीहरु राख्नु हुँदैन ।
– आवतजावत हुने स्थानमा हिटर राख्नु हुँदैन । विशेषगरी बच्चाहरुको पहुँचबाट हिटरलाई टाढा राख्नुपर्छ र यसलाई समथर सतहमा राख्नु राम्रो हुन्छ ।
– मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरुले सकेसम्म हिटरको प्रयोग गर्नुहुँदैन ।
– छालाको लागि पनि हिटरको प्रयोग राम्रो हुँदैन । लामो समय हिटरमा बस्नुले छाला सुख्खा हुन पुग्छ । यसका साथै हिटरले आँखा पनि सुख्खा हुनपुग्छ ।
– यदि कोठामा हिटर चलिरहेको छ भने समय समयमा पानी खाइरहुनपर्छ । त्यसका साथै चिया, कफी वा सुप पिइरहनु राम्रो हुन्छ । यसले छाला सुख्खा हुनबाट केही कम गर्न सक्छ ।
– बन्द कोठामा हिटर अन गरेर छोड्नुहुँदैन । यसबाट निस्किने कार्बनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ ।
– हिटर बालेर कहिल्यै पनि निदाउनु हुँदैन । यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ