नवकान्तिपुर, संवाददाता ।
काठमाडौं, ८ माघ ।
त्रिवेणीधामको प्रचारप्रसार, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यकासाथ वसन्त पञ्चमीको अवसरमा नुवाकोटको शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकामा रहेको त्रिवेणीधाममा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुने भएको छ ।
त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था महायज्ञ मूल समारोह समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही माघ १६ गतेदेखि श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ सुरु हुने जनाकारी गराएको हो । माघ १६ गतेदेखि २४ गतेसम्म चल्ने महायज्ञमा एक लाख पर्यटक भित्र्याउने आयोजकको लक्ष्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
त्रिवेणीधामका बारेमा जानकारी दिंदै शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले नेपालको मध्यपहाडी लोकमार्गमा पर्ने भएकोले देशको जुनसुकै भू–भागबाट पनि सहजै पुग्न सक्ने बताए । उनले धार्मिक तथा पौराणिक महत्व रहेको त्रिवेणीधाममा हुन लागेको यो महायज्ञले आम हिन्दु तथा बौद्धमार्गीहरूको आस्थालाई अझ उजागर गर्ने विश्वास व्यक्त गरे ।
तीन नदीको सङ्गम त्रिवेणीलाई अति पवित्र पुण्य स्थानको रूपमा लिने गरेको बताउँदै अध्यक्ष थापाले त्रिवेणीधाम अरूभन्दा पवित्र र दुर्लभमध्येको एक भएको बताए । साथै, उनले भौगोलिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको यस धामको थप प्रचारप्रसार र विकासले सरकारले राखेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई समेत टेवा पुग्ने बताए ।
उक्त कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नुवाकोट क्षेत्र नं. १ का संयोजक पदम उप्रेतीले त्रिवेणीधामलाई हिन्दुहरूको धर्मको मात्र नभएर सबै धर्मको केन्द्र बनाउन लागिएको बताए । नुवाकोटको विकासका लागि त्रिवेणीधाम कोशेढुङ्गा सावित हुने भन्दै संयोजक उप्रेतीले अब आर्थिक समृद्धितर्फ सबैले जोड दिनुपर्ने धारणा राखे ।
त्यसैगरी, कार्यक्रमा बोल्दै ईश्वरकृष्ण महाराजले नुवाकोट सुन्दर रमणीय ठाउँ भएकाले यो कार्यक्रमको अवधिमा एकपटक भए पनि त्यहाँ पुग्न सबैलाई आग्रह गरे । उनले आयोजक समितिले राखेको एक लाख पर्यटक भित्र्याउने लक्ष्यलाई मिडियाले पनि साथ दिए अवश्य पनि लक्ष्य पूरा हुने बताए ।