तीनैजना बच्चाको जन्मदिन मनाउन दुबईदेखि आएको थियो भारतीय परिवार

नेपालको दामनमा निसास्सिएर मृत्यु भएका भारतीय नायर परिवार आफ्ना तीनजना छोराछोरीको जन्मदिन मनाउन युएईको दुबईबाट नेपाल आएको गल्फ न्यूजले समाचार दिएको छ ।

तीनैजना बच्चा जनवरी महिनामा जन्मेका थिए । ३९ वर्षीय प्रविण कृष्ण नायर, ३४ वर्षीया पत्नी सारन्या, उनीहरुका तीन छोराछोरी ९ वर्षीय श्रीभद्र, ८ वर्षीया आचा र ७ वर्षीया अभिको शव एयरलिफ्टमार्फत काठमाडौंस्थित अस्पतालमा ल्याइएको सो समाचारमा जनाइएको छ ।



गल्फ न्यूजलाई उनीहरुको परिवारका सदस्यले बताएअनुसार सो परिवार बच्चाको जन्मदिन मनाउनका लागि नेपाल आएको थियो । बच्चाको जन्मदिन मनाउनका लागि उनीहरुले हरेकवर्ष फरक गन्तव्य रोज्ने गरेका थिए ।

उनीहरु नयाँ ठाउँमा जान मन पराउँथे । सो परिवार १५ वर्षभन्दा अघिदेखि दुबईमा बस्दै आएको थियो । उनीहरु भारतको केरलाको त्रिभुवननाथपुरमका हुन् । सो परिवार तथा नायर परिवारका केही सदस्य पोखराबाट फर्किने क्रममा थिए । उनीहरु नेपालबाट भारत जाने तयारीमा रहेको हुँदा मकवानपुरको दामनमा बास बस्न पुगेका थिए ।

होटलमा राति बढी चिसो भएको भन्दै राति २ बजे रेष्टुरेन्टमा बलिरहेको ग्यास हिटर सो परिवारले जबर्जस्ती गरेर कोठामा लगेका थिए । दुईवटा कोठमा रहेका परिवार बढी चिसो भएपछि एकै कोठामा ग्यास हिटर बालेर सुतेको बताइएको छ ।

दामनको रिसोर्टका म्यानेजरका अनुसार उनीहरुले चारवटा कोठा बुक गरेका थिए । तर, उनीहरु आठै जना एउटै कोठामा बसेका थिए । बाँकी अन्य कोठामा बसेका थिए । सो क्षेत्र समुद्री सतहबाट करिब २५०० मिटरको उचाइमा छ । चिसो भएकोले उनीहरुले ग्यास हिटर खोेलेका थिए । दुबईमा आफ्ना नातिनातिना भेट्न गएका सारन्याका पिता शशि थरनले भने,‘‘मेरा तीनैजना नातिनातिना गए ।’’

नायर दुबईमा रहेको एक कम्पनीमा काम गर्थे । सारन्या आफ्नो पढाइ मास्टर्स इन फर्मास्युटिकल्स पूरा गर्न कोचीमा हालै फर्केकी थिइन् । जहाँ उनी आफ्ना बच्चाहरुसँग बस्थिन् । सारन्या उनका बच्चाको रेखदेखमा संलग्न थिइन् । उनलाई अर्को नाम सान्ध्याका रुपमा समेत चिनिन्थ्यो ।

नायरका साथी ३९ वर्षीय रेजीनाथ कुमार टिबी कोजीकोडेका हुन् । उनकी पत्नी इन्दु ३४, उनीहरुको छोरा भाइसनभ रेजीनाथ तथा अन्य दुई जना पनि त्यही कोठामा सुतेका थिए । ती तीन जनाको पनि घटनामा मृत्यु भएको छ । त्यो जोडीका दुई बच्चा थिए । अर्को एक छोरा माधव फरक कोठामा भएकोले बचेको जनाइएको छ ।
मकवानपुरको दामनस्थित पानोरोमा रिसोर्टमा सोमवार राति बेहोस भएर ८ भारतीयको मृत्यु भएको थियो ।

कोठामा बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई कैलाश एयरको हेलिकोप्टरबाट काठमाडौंस्थित हेम्स अस्पताल ल्याइएको थियो ।

सम्बन्धित समाचार