एमसीसी नेपालको राष्ट्रिय हितमा छैन: लीलामणि पोखरेल

सरकारले एमसीसीका पक्षमा वक्तव्यबाजी गरिरहेको अवस्थामा सत्तारूढ दल नेकपाकै स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने त्यसका विपक्षमा खुलेर बोलेका मात्र छैनन्, उनले एमसीसीका विपक्षमा बोल्नेहरूलाई रकम दिएर मुख थुन्ने काम भएको समेत बताएका छन् । उनले सोल्टी होटलमा अघोषित एमसीसीको कार्यालय रहेको र त्यहाँबाट मुख थुन्ने काम भएको पनि आरोप लगाएका छन् । हालै पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको पुस्तकको विमोचन कार्यक्रममा बोल्नेक्रममा पोखरेलले भने ‘एमसीसी विरोधीहरूको मुख थुन्नकै लागि करिव १८ अर्ब रकम खर्च गरिएको सूचना छ ।’

‘एमसीसीसँग नेपालका कुनै आन्तरिक कानुन बाधक भए ती कानुनहरू स्वतः खारेज हुने नियम छ’ भन्दै पोखरेलले प्रश्न गरेका छन् ‘एमसीसी परियोजना नेपालका कुन प्रोजेक्टमा खर्च हुँदैछ, त्यसको डिपीआर मलाई कसैले दिन सक्छ ?’ एमसीसी परियोजनाका विरोधमा लामो समयदेखि आफ्नो विचार राख्दै आएका पोखरेलले एमसीसी राष्ट्रघाती परियोजना भएको दावी गरेका छन् । उनले एमसीसी लागु भए अमेरिकी नागरिक नेपाल आएर कुनै जघन्य अपराध गरे नेपालको कानुनअनुसार कारवाही समेत गर्न नपाउने खतरनाक सर्त रहेको पनि दावी गरे ।



उनले एमसीसीको जतिसुकै राम्रो कुरा गरे पनि यो इन्डोप्यासेफिक रणनीतिकै अङ्ग भएको बताए । ‘एमसीसी इण्डोप्यासेफिक रणनीतिको अङ्ग भएको कुरा मैले भनिरहनु पर्दैन, यो कुरा अमेरिकाका दुई पूर्वमन्त्री र राजदूतले नै बताइसकेका छन्’ पोखरेलले भनेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँग रेलको कनेक्टिभिटी जोड्ने घोषणा गरेका छन् । चिनियाँ रेल नेपाल आउन नदिन नेपालमा एमसीसी लागु गर्न लागिएको अमेरिकी चाल रहेको पोखरेलले भनेका छन् ।

सम्बन्धित समाचार