प्रचण्डको ‘मास्टर प्लान’बाट तर्सिए ओली, झलनाथसँगको भेटमा के भयो कुराकानी ?

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको सक्रियता बढेपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले आँफू छायाँमा परेको आभास गरेका छन् । सभामुख प्रकरणमा पार्टीभित्रबाटै घेराबन्दीमा परेर प्रचण्डले आफूले चाहेकै नेतालाई सभामुख बनाएपछि ओली पार्टीमा एक्लिएको महसुस गरेका हुन् । सभामुख प्रकरणमा प्रचण्डलाई साथ दिएका झलनाथ खनालसँग विहीबार भेट गरेर उनले पार्टी सञ्चालनबारे लामो कुराकानी गरेका थिए ।

तत्कालीन एमाओवादीसँग पार्टी एकतासँगै झलनाथलाई बेवास्था गर्दै आएका ओलीले विहीबार बालुवाटार बोलाएरै छलफल गरे । पछिल्लो समय नेकपा खेमाका नेताहरू झलनाथ, माधव नेपाल र वामदेव गौतम प्रचण्डसँग नजिक भैरहेको बेला ओलीले झलनाथलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।



त्यसो त बजारमा प्रचण्डले नेपाल, खनाल र गौतमलाई साथ लिएर ओली सरकार ढाल्नेसम्मको योजना बनाएको चर्चा छ । केही दिनअगाडि गौतम निवासमा भएको भेटमा सभामुख प्रकरणमात्र नभई पार्टी र सरकारकै आमुल परिवर्तन गर्नेगरी ग्राण्ड डिजाइन भएको स्रोतको दाबी छ । उक्त ग्राण्ड डिजाइनलाई प्रचण्डको मास्टर प्लानको रूपमा शीर्ष नेताहरूबीच चर्चा हुने गरेको स्रोत बताउँछ ।

प्रचण्डको मास्टर प्लान अनुसार प्रधानमन्त्रीमात्र नभएर राष्ट्रपतिसम्म परिवर्तन गर्ने विषय रहेको छ । उनको प्लान खनाल, नेपाल र गौतमले साथ दिएमा सफल नहोला भन्न सकिंदैन । हाल ओलीका योजना असफल पार्दै जाने र प्रतिपक्षी कांग्रेसलगायत मधेशवादी दलको समर्थन पाइसकेपछि प्रधानमन्त्री र राष्ट्रपति दुबैलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनेसम्मको प्रचण्डको योजनामा यतिबेला शीर्ष तहमै छलफल भैरहेको स्रोतको दाबी छ ।

खनाललाई राष्ट्रपति, नेपाल र गौतममध्ये एकलाई प्रधानमन्त्री बनाएर पार्टी आफू चलाउने प्रचण्डको योजना रहेको बताइन्छ । त्यसैले पनि कांग्रेसलाई हात लिन पछिल्लो समय प्रचण्ड सक्रिय देखिन्छन् । गत आइतवार कांग्रेस नेता पौडेलसँगको भेटमा उनले उपसभामुख कांग्रेसलाई दिन कुनै आपत्ति नभएको भन्दै कांग्रेससँग निकट हुन खोजेको आशय व्यक्त गरिसकेका छन् । सो भेटमा प्रचण्डले पौडेललाई सरकारमा ल्याउन पहल गर्छु, साथ दिनुहोस् भनेर पौडेलको नारी छामेको स्रोतका दाबी छ ।

ओलीले उपचारको लागि लामो समय आराम गर्नुपर्ने भन्दै राष्ट्रपतिलाई कार्यकारी अधिकार दिने मोडलमा कुराकानी अगाडि बढाएदेखि नेपाल, खनाल र गौतम ओलीसँग झस्किएका थिए । त्यसैले पनि उनीहरू प्रचण्डलाई साथ दिन तयार भएका थिए ।

प्रचण्डको मास्टर प्लानबाट सशङ्कित ओलीले खनालसँगको भेटमा पार्टी र सरकार सञ्चालनमा स्पेस दिने भन्दै नजिक्याउने प्रयास गरेका थिए । प्रचण्डको मास्टर प्लानमा झड्का दिने गरी ओलीले कदम चाल्ने तयारीमा छन् । भेटपछि झलनाथले पार्टी सञ्चालका विषयमा र दुःखसुखको कुराकानी भएको बताए पनि ओलीले खनाललाई प्रचण्डको मास्टर प्लानकै बारे बाहिर आएको कुरा के हो कम्रेड भनेर जिज्ञासा राखेको स्रोत बताउछ । खनाललाई प्रचण्डबाट छुटाउने प्रयास ओलीले गरेको थिए । एक एक गरी प्रचण्डबाट खनाल र गौतमलाई टाढा बनाएर प्रचण्डलाई अल्पमतमा पार्ने ओलीको रणनीति रहेको बुझ्न सकिन्छ ।

सम्बन्धित समाचार