समृद्धि अब धेरै टाढा छैन –मन्त्री बस्नेत

हनुमन्ते सफाइ अभियानको १०० हप्ता पूरा भएका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलले हनुमन्ते सफाइ अभियानद्वारा आज राधेराधेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले मुलुक समृद्धि बनाउने अभिभारा पूरा गर्ने बताए ।

उनले सङ्घीयताको अभ्यास भइरहेको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय तह मिलेर विकासको अभिभारा पूरा गर्न लाग्नुपर्ने औँल्याउँदै तीनवटै तहको आपसी सहयोग र साझेदारीसँगै एकले अर्काको अस्तित्व स्वीकार्दै विकासमा लम्कनुपर्नेमा जोड दिए ।



पूर्वउद्योगमन्त्री महेश बस्नेतले देशमै नमूना बनेको हनुमन्ते सफाइ अभियानलाई नयाँ अभियानमा सञ्चालनमा गर्ने जानकारी दिए । उनले हनुमन्ते करिडोर निर्माणमा जग्गा धनी कसैलाई पनि नोक्सान नपर्ने गरी हनुमन्ते जग्गा एकीकरणमार्फत सबैलाई क्षतिपूर्ति दिइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वाग्मती प्रदेश सदस्य रजनी जोन्छे, भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, नेकपाका जिल्ला अध्यक्ष वचन देउजा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, गैसस भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं, पहलमान श्रेष्ठ लगायतका अभियन्ताले हनुमन्ते सफाइ अभियानसँगै मनको सफाइ पनि गर्ने बेला आएको बताए।

हनुमन्ते सफाइ अभियानका उत्प्रेरक रुद्र पौडेलले अब नयाँस्वरुपमा सफाइ अभियान शुरु हुने बताउँदै अभियान निरन्तर जारी रहने भनाइ राखे । अभियानमा ९५ हजार जनाभन्दा बढी र २५० भन्दाबढी सामाजिक सङ्घसंस्थाको सहभागिता रहेको अभियानमा १६०० टन फोहर सङ्कलन भएको कार्यक्रममा जानकारी दिइयो ।

सम्बन्धित समाचार