अग्नि सापकोटाविरुद्ध परेको रिटमाथि आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएको थियो। ‘उनी विरुद्धको मुद्दामा म कुनै बेला कानुन व्यवसायी छँदै बहस गरेको थिएँ । त्यसैले यो मुद्दा मैले हेर्न मिल्दैन’, फुयालले भने, ‘आज उनीमाथि परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।’
सापकोटाको मुद्दा फुयालको इजलाशको पहिलो नम्बरमा रहेको थियो । सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार रिट दायर गरेका थिए ।
सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको निवेदन सर्वोच्चमा विचाराधिन रहेकाले सभामुख नियुक्त नर्गनु भनी अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ । रिटमा सापकोटले द्वन्द्वकालमा काभ्रे जिल्लामा अर्जुन लामाको हत्या गरेको आरोप रहेकोले उनीमाथि अनुसन्धान गर्न सभामुख पदले प्रभावित हुने भएकाले रोक्न माग गरिएको हो ।
यसैबीच, प्रतिनिधिसभा सभामुखको निर्वाचन आज हुँदैछ । सभामुख चयनका लागि प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
सभामुखका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता सापकोटाको मात्रै उम्मेदवारी परेको छ। प्रतिनिधिसभा सभामुख चयनका लागि औपचारिक प्रक्रिया सुरु भएसँगै संसद् सचिवालयले जारी गरेको कार्यतालिका अनुसार सोमबार नेकपाको तर्फबाट सापकोटाले मात्र सभामुखका लागि उम्मेदवारी दिएका थिए। सभामुखमा उनी एक्ला उम्मेदवार भएकाले उनी चयन हुने निश्चित छ।
गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखबिहीन छ ।