आदिवासी जनजाति महासंघको एकता घोषणा

आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा सभा तथा सपथ ग्रहण समारोह सोमबार काठमाडौंमा सम्पन्न भएको छ । पूर्व नेकपा (एमाले) सम्बद्ध नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र पूर्व नेकपा (माओवादी केन्द्र) सम्बद्ध आदिवासी जनजाति राष्ट्रिय महासंघबीच एकता घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । एकता पश्चात् बनेको आदिवासी जनजातिको केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारीहरूलाई नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सपथ ग्रहण गराएका थिए ।

उक्त समारोहलाई सम्बोधन गर्दै आदिवासी जनजाति महासंघका संयोजक सुरेश आले मगरले नेपालमा माक्र्सवादलाई लागू गर्न आदिवासि जनजातिलाई पनि सँगसँगै लैजानु पर्ने बताए । अहिले पनि कतिपय कुराहरूले आदिवासि जनजातिलाई बिझाइरहने गरेको बताउँदै संयोजक मगरले जनजातिलाई नयाँ बोतल देखाएर पुरानो रक्सी पिलाए जस्तो गरिरहेको आरोप लगाए ।



त्यसैगरी कार्यक्रममा बोल्दै नेकपाका महासचिव बिष्णु पौडेलले नेपाली समाजमा एकथरी लैङ्गिक, धार्मिक, जातीय विभेद र अर्कोथरी वर्गीय विभेद गरी दुई प्रकारको विभेद देखिएकोले त्यो विभेद अन्त्यका लागि अझै पनि संघर्ष गर्नु पर्ने आवश्यकता रहेको बताए । आदिवासि जनजाति समुदायका सहि विचारलाई नेकपाले साथ दिएको भन्दै महासचिव पौडेलले अझै पनि आदिवासी जनजातिका केही समस्या भए आफूहरूलाई सुझाव दिन आग्रह गरे ।

नेकपा नेता तथा पूर्वराजदूत कमानसिंह तामाङले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापान गर्न आदिवासी जनजातिको पनि महत्त्वपूर्ण भूमिका रहेकोले सरकारले त्यसलाई भुल्न नहुने बताए । साथै उनले संविधानले दिएको अधिकारसमेत आदिवासी जनजातिले नपाएको भन्दै दुखेसो पोखे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बिष्णु पौडेल, प्रमुख सचेतक देब गुरुङ, पूर्वमन्त्री कर्ण बिष्ट र मातृका यादवलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार