नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा हुने भएको छ । पार्टी एकतापछि दोस्रोपटक बस्न लागेको बैठक सञ्चालनका लागि सभागृह बुक गरिएको छ । केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन् ।
पार्टी कार्यालयको हलमा सबै अट्न सम्भव नभएकाले सभागृह बुक गरिएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए । माघ १५ गतेबाट शुरु हुने केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । विधान अनुसार ६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीले गरेको निर्णय अनुमोदन हुनेछन् ।
तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकताभएपछि दोस्रो पटक बस्न लागेको यो बैठकमा विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । विधान संशोधन भएपछि वामदेव गौतम उपाध्यक्ष हुनेछन् ।