काँग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले धक्काको कुरा गरेको भन्दै त्यसबारे जानकारी मागेका छन् ।
‘प्रधानमन्त्रीजीले धक्काको कुरा गर्नुभएको छ, धक्का भनेको के धक्का हो यो ? कहाँबाट आउने धक्का हो, यो यहीँ सोध्न मिलिहाल्यो’, मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै देउवाले भने, ‘ठूलो धक्का आउँदैछ रे नेपालमा, कहाँबाट आउँदैछ यो हामीले पनि थाहा पाउनुप-यो ।’
उनले अगाडि भने, ‘नेपालमा कसले धक्का दिन सक्छ हामी पनि हेरौँ, त्यसकारण धक्का कसले दिएको छ प्रधानमन्त्री बोल्नु भएको छैन ।’
यसअघि संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागिएको तर सुरुवातमै केही धक्का देखिएको बताएका थिए ।
उनले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै प्रजातन्त्र र लोकतन्त्रको कुरा गर्नु गर्दा खुसी लागेपनि व्यवहारमा त्यस्तो हुन नसकेको बताए ।
यस्तै हालै सभामुखमा निर्वाचित अग्नि सापकोटालाई बधाइ दिँदै उनले सभामुखको रुपमा सापकोटालाई प्रतिपक्षीको पूर्ण साथ र सहयोग रहने बताए ।