नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस र जनताको जागरुकताले लोकतन्त्र बचाउन मद्दत गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अझै पनि लोकतन्त्रका लागि सर्वथा अनुकूल वातावरण नभएको भन्दै लोकतान्त्रिक शक्तिहरु सतर्क र जागरुक भएर अघि बढनुपर्ने धारणा व्यक्त गरे।
नेता पौडेलले एकदलीय निरङ्कुशतालाई लिएर देशमा परिवर्तन गर्ने सोच भएका राजनीतिक शक्तिले आफूलाई बहुदलसँग जोडेर अघि बढ्दा विरोधाभास उत्पन्न भएको आरोप लगाए । उनले भने, “नेपालको संविधान निर्माण गर्दा पनि ठूलो विरोधाभास भएको थियो, छ वर्षसम्म त्यसैमा लड्नु पर्यो । कम्युनिष्ट पार्टीका मन मस्तिष्कमा एक दर्शन छ, त्यसबाट प्रेरित भएर त्यहीअनुसार संविधान दिन चाहने तर अर्कोतिर लोकतन्त्रका लागि ठूलो सङ्घर्ष भएको र त्यसअनुसार संविधान बनाउनुपर्ने अवस्था थियो ।”
आफूले लोकतन्त्रको मान्यतालाई बचाउन प्रत्येक धारामा बहस गरेर लड्नु परेको नेता पौडेलले स्मरण गरे । संविधानसभाको बनावटअनुसार लोकतान्त्रिक संविधान आउने अवस्था नभएको परिस्थितिमा काँग्रेसको ठूलो प्रयासले नेपालको संविधानमा लोकतान्त्रिक मूल्यमान्यता उल्लेख गर्न सफल भएको उनको भनाइ थियो ।
“संविधान कार्यान्वयन गर्ने बेलामा फेरि लोकतन्त्रमा विश्वास नभएका शक्तिहरुको हातमा सत्ता गयो । उनीहरु कानून बनाएर आफूले चाहेको दर्शन र सिद्धान्ततिर देशलाई लान प्रयत्न गरिरहेका छन्” उनले भने, “सबै लोकतान्त्रिक शक्ति एकजुट भएर खबरदारी गर्नुपर्छ । संविधान र जनताको मान्यता एकातिर तर उहाँहरुको चाहना अर्कोतिर छ, त्यसैको द्वन्द्व हो अहिले ।”
नेता पौडेलले काङ्ग्रेस पार्टीलाई पद्दतिमा अघि बढाउन र आवधिक आन्तरिक निर्वाचनका लागि पनि लडाइँ गर्नुपरेको बताउँदै पार्टीमा भागबन्डा नभई शक्ति बाँडफाँट गरिएको स्पष्ट पारे ।