उपसभामुखमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) दुबै दलले दाबी गरे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नैतिक संकट आइपरेको छ । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने भएकोले नचाहेर पनि अरू दललाई उपसभामुख दिनुपर्ने बाध्यता नेकपालाई छ । अग्नि सापकोटालाई सभामुख बनाउने क्रममा समर्थक नै राजपा बसेकोले उसैलाई उपसभामुख दिनुपर्ने एकथरी नेकपा नेताहरूको भनाई छ । अर्काथरीले भने कांग्रेसले उम्मेद्वार नदिएर सघाएको र प्रमुख प्रतिपक्षि हुनुको नाताले उसैलाई उपसभामुख दिनुपर्ने मत राख्दै आएका छन् ।
राजपालाई सरकार विस्तारको क्रममा फकाउन सकिने भन्दै कांग्रेसलाई उपसभामुख दिने गरी नेकपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । छलफलका क्रममा कुन दललाई उपसभामुख दिँदा के हुन्छ भन्ने आन्तरिक लेखाजोखा पनि भैरहेको छ । उपसभामुख कांग्रेसलाई दियो भने सहमतिको राजनीति गरे जस्तो पनि हुने र संवैधानिक परिषदमा कांग्रेसबाहेक अरूले नियुक्तिमा भागबन्डाको माग गर्ने सम्भावना रहँदैन । त्यसो भए परिषदमा विपक्षी दलको नेता र उपभामुख गरी दुई सदस्य कांग्रेसका हुन्छन्, जसकारण सरकारलाई कुनै पनि निर्णय लिन सहज हुने भएकोले कांग्रेसलाई उपसभामुख दिनेबारे नेकपामा सकारात्मक बहस भइरहेको छ ।
सर्तसहित उपसभामुख
नेकपाले उपसभामुख कांग्रेसले दिने अवस्थामा एक सर्त अगाडि सार्ने भएको छ । विभिन्न अनौपचारिक कुराकानी भेटमा नेकपाले कांग्रेसलाई उपसभामुख लिने हो भने संवैधानिक परिषद्को ऐन संशोधनमा सहमत हुनुपर्ने सर्त अघि सार्न थालेका छन् । हाल परिषद् ऐनमा सर्वसम्मतिबाट निर्णय हुनुपर्ने प्रावधान छ । परिषद्को पहिलो बैठकमा सहमति हुन नसके अर्को बैठकबाट मात्र बहुमतको निर्णय प्रक्रियामा जान्छ । यसअघि सभामुख रिक्त हुँदा निर्णय गर्न समस्या परेपछि सरकारले सुरूमै बहुमतबाट निर्णय गर्न सकिने गरी अध्यादेशबाटै परिषद् ऐनको व्यवस्था परिमार्जन गर्न खोजेको थियो तर विरोध भएपछि अध्यादेश ल्याउने प्रक्रिया रोकिएको थियो ।
कांग्रेसले नेकपाको शर्तका बारेमा पार्टीमा छलफल गरेर निर्णय लिने बताएको छ । संवैधानिक निकायमा शून्य उपस्थिति रहेकोले कांग्रेसले उक्त शर्त मानेरै भएपनि उपसभामुख लिने तयारी गरेको स्रोतको दाबी छ । तर पनि कांग्रेसले नेकपासँग सहमति नहुँदासम्म दाबी प्रस्तुत पनि नगर्ने र उम्मेद्वार बारे पनि कुनै छलफल नगर्ने नीति लिएको छ ।
राजपाको घुर्की
यता सभामुखमा समर्थक नै बसेको र राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धनले राम्रो रिजल्ट आएकोले आफूलाई उपसभामुख नदिएमा नेकपाले ठूलो मूल्य चुकाउनुपर्ने घुर्की राजपाले दिने गरेको छ । दुई तिहाई मत पनि गुमाएको नेकपाले सरकारमा सहभागि गराउन पनि उपसभामुख आफूहरूलाई दिनेमा राजपा नेताहरू ढुक्क छन् । प्रदेश २ मा समाजवादी पाटी नेपाल नेतृत्वको सरकार ढालेर नेकपा राजपा गठबन्धनले सरकार बनाउने खेमाबाट पनि नेकपासँग पटक पटक छलफल भएकोले उपसभामुखमा नेकपाले गढबड नगर्ने राजपाको बुझाई छ ।
त्यसो त प्रधानमन्त्री केपीओली पनि उपसभामुख राजपालाई दिनुपर्ने बताउदै आएकोले राजपा आशावादी देखएको छ, तर नेकपाको अन्य नेतृत्वहरूको सुझावका आधारमा ओली राजपालाई उपसभामुख दिने निर्णयबाट पछि हट्न तयार भएका छन् । उपसभामुख कांग्रेसलाई दिएर राजपालाई फकाउन सरकारमा सम्मानजनक पद दिने नेकपाको तयारीलाई राजपाले कुन रूपमा लिने हो त्यो आगामी दिनहरूमा खुल्दै जानेछ ।