नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।
विषादी रहित उत्पादन, औद्योगिकरण र बजार व्यवस्थापन गर्ने गराउने उद्देश्यले तारकेश्वर नगरपालिका–४ स्थित पुरानो गृहेश्वरमा ‘यस गु्रप अर्गानाइजेसन’को स्थापना गरिएको छ । विगत १५ वर्षदेखि नै अर्गांनिक कृषि उत्पादनमा जोड दिँदै आएको भएपनि आइतबार भने एक औपचारिक कार्यकमको आयोजना गरी यस संस्था सुरुवात गरिएको संस्थाका अध्यक्ष कुल बहादुर लिम्बु (केवी सुब्बा)ले बताए । किसान, मजदुर र उपभोक्ताको जीवनस्तर उकास्ने लक्ष्यले यस संस्थाको स्थापना गरिएको उनले बताए ।
कृषिलाई आधुनिकीकरण गरी देशलाई नै प्रांगारिक बनाउने सरकारको नारालाई आत्मसाथ गर्र्दै आफूहरुले पनि प्रांगारिक उत्पादनमा जोड दिएको उनले बताए । विगतदेखि नै विषादीरहित उत्पादनमा निरन्तर प्रयास गर्र्दै आएको र अब संस्थाको स्थापना गरी संस्थागत रुपमा पनि यही कुरालाई निरन्तरता दिने उनले बताए । गाउँ, समाज, प्रदेश हुँदै मुलुकलाई नै विषादीरहित उत्पादन खुवाउने लक्ष्य लिएको अध्यक्ष सुब्बाले बताए ।
कार्यक्रममा कृषि मन्त्रालयका पूर्व प्रतिनिधि गोविन्द पोखरेलले मुलुकको विकासका लागि अर्गानिक उत्पादन जरुरी रहेको भन्दै यस अर्गानाइजेसनको कार्यप्रति प्रशंसा गरे । साथै आगामी दिनहरु संस्थाका यस्ता राम्रा कामहरुलाई सरकारी तवरबाट पनि साथ दिन जरुरी रहेको बताए ।
त्यस्तै मिलिजुली टोल सुधार समितिका अध्यक्ष एवं पूर्व वडा संयोजक कमल प्रसाद रिमालले विषादी उत्पादनले अहिले बजार लिइरहेका बेला ‘हामी केही अर्गानिक खाएका त यस्ता छौं, हाम्रा सन्तानले अर्गानिक सुंग्न पनि पाउने छैनन् उनीहरु कस्ता होलान् ?’ भन्ने चिन्ता व्यक्त गरे । विषादी हो भन्ने जान्दा जान्दै पनि धेरै उत्पादन र देख्दा राम्रो बनाउने होडमा किसानहरु युरिया विषादी मलको प्रयोग गर्न बाध्य भएकोमा दुःख व्यक्त गरे ।
मिलीजुली महिला बचत समूहकी उपाध्यक्ष प्रतिभा भट्टराईले अर्गातिक उत्पादनका लागि संस्थाको तर्फबाटथ गर्ने सहयोग गर्न तत्पर रहने प्रतिवद्धता व्यक्त गरिन् । रोल्पाका समाजसेवी रुद्र बहादुर महराले रासायनिक मलले मुलुकमा विकराल समस्या निम्तिन सक्ने भन्दै यसलाई हटाउन सबै मिल्नु पर्ने बताए । उनले हामी सबै मिली युरिया मल बहिष्कार गर्न सक्ने हिम्मत राख्नुपर्ने बताए ।