सरकारले कोरोना भाइरसको संक्रमणमा परेको चीनको उहान क्षेत्रमा रहेका नेपालीलाई आवश्यकता अनुसार उद्दार गर्ने भएको छ । हाल उहान क्षेत्रमा एक सय ९० नेपाली विद्यार्थी रहेका छन्। चीनस्थित नेपाली दुतावासमा सम्पर्कमा आएका उनीहरुबारे चिन्तित रहेको सरकारले जनाएको छ ।
यो भन्दा अप्ठ्यारो परिस्थिति आएमा उनीहरुलाई उद्धार गरिने सरकारले जनाएको छ । तर उनीहरुलाई ल्याएमा राख्ने ठाउँबारेमा छलफल भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्लायका प्रवक्ता महेन्द्र श्रेष्ठले उहान क्षेत्रका नेपालीलाई उद्धार गरेर ल्याएपछि सेनाको ब्यारेक जस्तै ठाउँ या अन्य सुरक्षित स्थानमा १५ दिन छुट्टै राख्ने तयारी भएको बताए ।
‘उहान प्रान्तको धेरै क्षेत्रमा कोरोना भाइरस फैलिएको छ । त्यहाँका १९० नेपाली सम्पर्कमा आउनुभएको छु, उनले भने,’आवश्यक परे उहाँहरुलाई उद्धार गर्छौँ। अहिले यहाँ ल्याएर राख्ने ठाउँबारेमा सरकारले गृहकार्य गरिरहेको छ।’ यस्तै शुक्रबारदेखि चीनको स्थल नाका जोडिएको रसुवागढी र तातोपानीमा हेल्थ डेक्स राखिने प्रवक्ता श्रेष्ठले बताए । मन्त्रालयले डा. अमृत पोखरेल र डा गुणनीधि शर्मालाई २ नाकामा शंकास्पद विरामीको उपचार गर्न पठाउने भएको छ ।
कोरोना भाइरस संक्रमण जाँचका लागि चीनतर्फको तातोपानी र रसुवा नाकामा स्वास्थ्य टोली राख्ने तयारी भइसकेको उनले बताए। राजधानीमा कोरोना संक्रमितको उपचारका लागि पाँचवटा ‘हब’ अस्पताल र ती अस्पताल मातहतमा १४ वटा ‘स्याटेलाइट’ अस्पतालको तयारी गरिएको उनले बताए। जनचेतना अभिवृद्धिका पर्चा पम्प्लेट तयार पारेको दाहालले जानकारी दिए।