एमसीसीबारे मौन बसिदिन भीम रावललाई ओली-प्रचण्डको आग्रह

अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनलाई भेटेरै एमसीसीबारे मौन बसिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा दाहालले रावललाई बोलाएर त्यसबारे छलफल गरेका थिए भन्ने खबर नागरिक दैनिकमा छ। तर रावलले आफू प्रमाणबिना नबोल्ने भएकाले यो विषयमा जहाँ र जस्तो ठाउँमा पनि धारणा राख्न सक्ने बताएका थिए । स्रोतका अनुसार केन्द्रीय कमिटीको बैठक शुरु हुनुअघि पार्टी काममा अछाम रहेका रावललाई पार्टी अध्यक्ष दाहालले निरन्तर फोन गरेर काठमाडौ बोलाएका थिए ।



१४ गते साँझ काठमाडौं आउने तयारीमा रहेका रावल अध्यक्ष दाहालको निरन्तर फोनका कारण १२ गते साँझ नै काठमाडौं आएका थिए । काठमाडौं आएपछि शुरुमै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरे । त्यसपछि दाहालसँग भेटेर उनले आफ्ना कुरा राखेका थिए ।

उनले केन्द्रीय कमिटीको बैठकमा एमसीसीलाई छलफलको एजेन्डा बनाउन अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । तर १५ गतेको बैठकको एजेन्डामा एमसीसी नदेखेपछि हलबाट उठेर उनले एजेन्डा मागे गरे । सोहीअनुसार अहिले केन्द्रीय कमिटीको बैठकमा एमसीसीमाथि बहस भएको छ।

सम्बन्धित समाचार