म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रा लेक क्षेत्रमा बाटो बिराएर चार जना पदयात्री हराएका छन् । खोप्रा लेकदेखि नारच्याङ बेशी गाउँ जाने क्रममा बिहीबार बिहानदेखि हराएका उनीहरु शुक्रबार साँझसम्म भेटिएका छैनन् ।
अंकित शाहसहित एक जना पोखरा र तीन जना काठमाडौका पैदलयात्रीहरु बाटो बिराएर जंगलमा अलपत्र परेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । शाह बाहेक तीन जनाको पूर्ण विवरण खुलेको छैन ।
बिहीबार बिहान खोप्रा लेकमा खाना खाएर नारच्याङ तर्फ हिडेका उनीहरु बाटो बिराएपछि जंगलको खोचमा हराएका हुन् । ‘उनीहरुसँग मोवाइलमा सम्पर्क हुन्छ तर कहाँ छन भनेर ठाउँ पत्ता लागेको छैन,’ प्रजिअ ढकालले भने, ‘दिनभरि स्थलमार्गबाट खोजी गर्दा भेटिएका छैनन् ।’
घना जंगल, भिर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई भएको उनले बताए । ‘हिउँले हिँड्न नै कठिन छ, उहाँहरुले खोचमा छौँ भन्नुहुन्छ, तर कतातिरको कुन खोचमा हो अझै पहिचान गर्न सकिएको छैन’– प्रजिअ ढकालले भने ।
जंगलभित्र आगो बालेर धुवा बनाई संकेत गर्न आग्रह गरिएपनि ठाउँ पत्ता लागेको छैन् । प्रजिअ ढकाल, प्रहरी नायव उपरिक्षक किरनजंग कुँवर सहित सशस्त्र र नेपाल प्रहरीको टोली शुक्रबार दिउँसो हराएकाहरुको खोजीमा खोप्रा तर्फ गएको थियो ।
खोप्रा क्षेत्रमा जंगल र भिर छ । मानवबस्ति देखि टाढा छ । २०७२ बैशाखमा घोडेपानी देखि खोप्रा जाने क्रममा हराएका एक जना मलेसियन पर्यटक अझै भेटिएका छैनन् ।