साहित्यकार वाग्लेको उपन्यास पुनर्वासको विमोचन

नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार आयोजित एक साहित्यिक कार्यक्रममा साहित्यकार सर्वज्ञ वाग्लेको उपन्यास कृति ‘पुनर्वास’ को सामुहिक रूपमा विमोचन भएको छ । प्रकाशन संस्था शिखा बुक्सका पुष्पराज पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले भने– ‘मानिसभित्रको संवेदनालाई जागृत गराउने काम साहित्यले गर्ने हुँदा साहित्य राजनीतिभन्दा फरक र जीवन्त हुन्छ ।’

कार्यक्रममा राष्ट्रिय सभाका सांसद बद्री पाण्डेले कृतिमाथि समीक्षा गर्दै पुनर्वास उपन्यासले नेपाल र भारतका सीमाक्षेत्रमा रहेका आम नागरिकले भोगेका अनुभवहरुलाई जस्ताको तस्तै उतारेको बताए । उनले अहिले आइरहेको दुई देशबीचका सीमा समस्या, भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गरेका थिचोमिचोलगायतका विषयमा पनि कृतिले चित्रण गरेकोले यो एउटा पठनीय पुस्तक भएको बताए ।
वरिष्ठ साहित्यकार कृष्ण धरावासीले कृतिमाथि टिप्पणी गरेका थिए । उनले उपन्यासमा प्रकृति र मानव जीवनबीच प्रयोग गरिएको कोमल कवितात्मक बिम्बहरूले उपन्यास पुनर्वासलाई निकै रोचक बनाएको बताए । उनको निष्कर्ष थियो– कतिपय पात्रहरूको पृष्ठभूमि खुलाउन नसक्नु उपन्यासकारको सीमा भए पनि समग्रमा उपन्यास निक्कै राम्रो रहेको छ ।



कार्यक्रममा राष्ट्रिय सभाकी सांसद इन्दु कँडरियाले पनि प्रस्तुत कृति काल्पनिक नभएर यथार्थतामा आधारित भएकोले यसले कञ्चनपुरको पुनर्वासको झल्को उतारेको र त्यहाँका नागरिकलाई न्याय दिलाएको बताइन् । उपन्यासकार वाग्लेले आफूले उपन्यास लेख्ने क्रममा कञ्चनपुरको सीमा समस्याका बारेमा स्थलगत भ्रमण गरेर त्यहाँको समस्या बुझेपछि कृति तयार पारेको बताए । उनले त्यहाँको भौगोलिक परिवेश र कृतिभित्र रहेका विषयका बारेमा संक्षिप्त उल्लेख गर्दै आगामी दिनमा अझ सक्रिय भएर साहित्यलेखन गर्ने प्रतिबद्धता जनाए । उपन्यास पुनर्वास उनको पाँचौं कृति हो । हाल अमेरिकाको क्यालिफोर्नियालाई आफ्नो कर्म क्षेत्र बनाएका वाग्लेले नेपाली साहित्यप्रति देखाएको अनुरागलाई बोल्ने वक्ताहरू सबैले प्रशंसा गरेका थिए ।

सम्बन्धित समाचार