सेयर बजारमा कोरोनाको त्रास, चिनियाँ सेयर बजार चार वर्षयताकै न्यून बिन्दुमा

चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको त्रासले गर्दा चिनियाँ सेयर बजार चार वर्षयताकै न्यून बिन्दुमा पुगेको छ । चीनमा नयाँ वर्षको बिदापछि सोमवार खुलेको सेयर बजार घटेर चार वर्षयताकै तल्लो बिन्दुमा पुगेको हो ।

सांघाई कम्पोजिट इन्डेक्स एकैदिन करिब ८ प्रतिशतले घटेको हो । यसदिन उत्पादन, सामग्री र उपभोग्य सामग्रीमा भारी गिरावट आउँदा स्वास्थ्योपचार समूहतर्फको सेयर बजार बढेको छ ।



चिनियाँ केन्द्रीय बैंकले कोरोनाको प्रकोप नियन्त्रणका लागि नयाँ उपाय अवलम्बन गर्ने बताए पनि सेयर बजार भने निरन्तर ओरालो लागेको छ । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीओसी)ले अनपेक्षित रुपमा अल्पकालीन ब्याजदर घटाएको छ । बैंकिङ प्रणालीको तरलता सुनिश्चित गर्न सोमबार १ सय ५० बिलियन युआन बजारमा पठाएको छ ।

दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको सेयर बजार कोरोना भाइरसको त्रासका कारण घटेको बताइएको छ । केही समयअघि अमेरिकासँगको व्यापार युद्धका कारण पनि चिनियाँ अर्थतन्त्रमा ठूलो गिरावट आएको थियो ।

गत वर्ष चीनको आर्थिक वृद्धिदर ६‍ दशमलब १ प्रतिशत थियो । जुन तीन दशकयताकै कम भएको बताइएको थियो ।

महामारीका कारण विश्व बजार नै प्रभावित भइरहेका बेला चिनियाँ सेयर मूल्यमा पनि गिरावट आएको हो । गत साता वाल स्ट्रिटको एस एन्ड पी ५०० सूचकांक पनि अक्टोबर यताकै कम भएको थियो । बीबीसी

सम्बन्धित समाचार