गत १ फेब्रुअरी २०२०, शनिबारका दिन संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा नोवेल कोरोना भाइरसको बारेमा एउटा छलफल कार्यक्रम सम्पन्न भयो । छलफलमा पर्यटन सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी, उच्च पदस्थ सरकारी कर्मचारी, पर्यटन र नेपाल वायुसेवा निगमका अध्यक्ष र प्रतिनिधिहरू सहभागी भएको नेपाल पर्यटन बोर्डबाट प्राप्त विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिव डा. सागर दाहालले भाइरसका लक्षणहरू, चीनमा र विश्वका अन्य मुलुकमा भाइरस फैलिरहेको बारे र नेपाल सरकारले भाइरसको नियन्त्रणका लागि चालेका कदमहरूको बारेमा प्रकाश पारेका थिए । डा. दाहालले जानकारी दिए ‘नेपालमा भाइरसको गम्भीर किसिमको त्यस्तो कुनै चुनौती छैन र एउटा मात्र भाइरसको पोजिटिभ केस देखिएको छ र त्यसको उपचार भैसकेको छ र उनी पनि अहिले स्वस्थ अवस्थामा छन् ।’ उनले अगाडि थपे– ‘विश्व स्वास्थ्य संगठनले स्थितिको अद्यावधिको बारेमा नियमित रूपमा जानकारी गराएको छ र यो सूचनालाई एकद्वार सूचना संयन्त्रको सुनिश्चितताको लागि स्वास्थ्य मन्त्रालयसँग जोडिएको छ ।’
उक्त कार्यक्रममा मन्त्री भट्टराईले भने– ‘कोरोना भाइरसको नेपालमा संक्रमण भएको थाहा भएको छैन, र जहाँसम्म नेपाल सरकारले यस सन्दर्भमा के गर्दै छ भन्ने प्रश्न छ, यसको सबै संयन्त्रहरू पूर्ण रूपमा तयारी अवस्थामा छन् र सबै आगमन स्थलहरू र त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल पनि सतर्क अवस्थामा छन् । सबै आवश्यक सावधानी र रोकथामको उपायहरू अपनाइएको छ ।’ मन्त्री भट्टराईले सहभागीहरूलाई उनको चिनियाँ राजदूत हो यान्कीसँग अघिल्लो दिन भएको छलफलको बारेमा पनि जानकारी दिए । राजदूतले चीन सरकारले नेपाल सरकारले समस्याविरुद्ध लड्न अपनाइएको सावधानीहरू बारे प्रशंसा व्यक्त गरेको पनि जानकारी गराए । मन्त्री भट्टराईका अनुसार राजदुत यान्कीले केही हप्ताभित्र चीनमा यो रोग नियन्त्रणमा आउने विश्वास व्यक्त गरेको र यसले नेपाल भ्रमण वर्षमा चीनबाट नेपाल आउने पर्यटकको संख्यामा कुनै असर नपर्ने बताएको पनि जानकारी दिए ।
कार्यक्रममा मन्त्री भट्टराईले यस सम्बन्धमा एक उच्च स्तरीय समन्वय टीम बनाइएको र जसमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, पर्यटन विभागका महानिर्देशक दण्डुराज घिमिरे र नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी रहेको पनि जानकारी गराए । मन्त्री भट्टराईले सम्बन्धित सबै निकायलाई, पर्यटन सरोकारवालाहरूलाई आम जनताबीच यस चुनौतीको बारेमा जागरण अभियान चाल्न निर्देशन पनि दिए ।
कार्यक्रमबाटै मन्त्री भट्टराइले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई विना कुनै संकोच नेपाल भ्रमण गर्न आमन्त्रण पनि गरे । उनले आश्वास्त पारे कि नेपाल कोरोना भाइरसबाट मुक्त छ । त्यसैले उनले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपालको भ्रमण गर्न र जीवनभरिको अनुभव सँगाल्न अनुरोध गरेको कुरा विज्ञप्तिमा उल्लेख छ ।