चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ सय ६५ पुगेको छ। चीनको स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हिजो (बुधवार) मात्रै थप ७३ जनाको ज्यान गएको जनाएको छ । मृत्यु हुनेमा हुवेई प्रान्तमा थप ७० जना, एक जना तिआनजिन, एक हीलोंगजियांग र एक गुइझोउ प्रान्तका रहेका छन् ।
चीनका ३१ प्रान्तमा हिजो मात्रै ३ हजार ६ सय ९४ जनामा थप संक्रमण भेटिएको छ । चीनबाहिर हङकङमा थप एक जना र फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । नयाँ तथ्यांक अनुसार हङकङमा २१ जनामा संक्रमण भेटिएको छ भने मकाउमा १० जना, ताइवानमा ११ जना संक्रमित छन् ।
त्यस बाहेक बाँकी एसिया महादेशभर १३८ जनामा संक्रमण भेटिएको छ। त्यस्तै युरोपभर २६ जनामा संक्रमण देखिएको र उत्तर अमेरिकामा १६ जना संक्रमित रहेका छन्, अष्ट्रेलियामा १४ जना संक्रमण भेटिएको पुष्टि भएको छ भने बाँकी विश्वमा सात जना संक्रमित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।