थम्मन थापा
बागलुङ, २३ माघ ।
बागलुङको गलकोटमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला हुने भएको छ । कार्यशालामा विदेशी सहित १५ मूर्तिकारले भाग लिँदै छन् । गलकोट नगरपालिका वडा नं हरिचौर ५ टेउवामा आगामी फागुन ५ गतेदेखि २१ गतेसम्म अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला गर्न लागिएको हो ।
कार्यशालाका लागि अहिले आवश्यक तयारी भइरहेको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।
कार्यशालास्थलमा सडक, भवन, शौचालयलगायतका संरचना बनिसकेका छन् । अध्यक्ष रानाले भने, ‘खानेपानी, बिजुली, सवारी साधन राख्ने ठाउँ, वनभोजस्थल र घेराबारको काम तयारीको अन्तिम चरणमा पुगेको छ ।’
कार्यशालाका लागि आर्थिक वर्ष ०७३-०७४ देखि तयारी अगाडि बढेको थियो । हालसम्म पूर्वाधार निर्माणमा ८६ लाख ९३ हजार रुपैयाँ खर्च भइसकेको प्रतिष्ठानले जनाएको छ । कार्यशाला सम्पन्न गर्दासम्म थप एक करोड ४१ लाख ७८ हजार रुपैयाँ खर्च हुने प्रतिष्ठानले बताइएको छ ।
कार्यशालाका लागि विभिन्न व्यक्तिहरूबाट सहयोग प्राप्त भइरहेको प्रतिष्ठानले जनाएको छ । कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीबाट करिब ३० लाख रुपैयाँ मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क प्राप्त भएको जानकारी पनि अध्यक्ष रानाले दिए । जग्गा पाएसँगै कार्यशालाका लागि पूर्वाधार तयारीको कामले गति लिएको थियो । कार्यशालामा मूर्ति कुँद्न योग्य ढुङ्गा वडा नं ३ हटियाका दीपक बोहराले निःशुल्क उपलब्ध गराउने भएका छन् । बोहरागाउँको सहस्रधारा क्षेत्रबाट दुई टनभन्दा ठूला १५ वटा ढुङ्गा सङ्कलन गरेएको रानाले बताए । तीनै तहका सरकारदेखि सर्वसाधारण व्यक्तिबाट पनि सहयोग प्राप्त भइरहेको छ । कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट ५० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । गलकोट नगरपालिकाले पनि तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । नगरको बजेटबाट कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । चालु आवमा गण्डकी प्रदेश सरकारले ३० लाख रुपैयाँ, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट दश लाख रुपैयाँ र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा सागरबाट पाँच लाख सहयोग प्राप्त भएको तथा व्यक्तिगत रूपमा पनि स्थानीयबासी धेरैको सहयोग पाएको प्रतिष्ठानले जानकारी दिइएको छ ।
कार्यशालाले नेपाल भम्रण वर्ष–२०२० लाई पनि टेवा पुर्याउने प्रतिष्ठानल्ऽे जनाएको छ । टेउवा पर्यटकीय स्थल घुम्टेको काखमा अवस्थित सुन्दर अनि मनोरम डाँडा हो । त्यहाँबाट विभिन्न मनोरम हिमश्रृङखलाहरूसँगै गलकोट र आसपासका जिल्लाहरूको दृश्यावलोकन गर्न सकिन्छ ।