एक भारतीय नागरिकलाई लिंग काटेर परालको कुन्युमा जलाएर हत्या गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–२ चारपानेका १८ वर्षीय लक्ष्मण यादव र २० वर्षीय करुण चौधरी छन् ।
भारत बिहार घर भई हाल बिर्तामोड–२ चारपानेमा बस्दै आएका करिब ४० वर्षीय सुभान शेखको माघ २१ गते राति अण्डकोषसहित लिंग काटेर परालमा आगो लगाएर हत्या गरेको प्रहरीले जनाएको छ ।
झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले पक्राउ परेका दुईजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा शुक्रबार बिहान सार्वजनिक गरेको जानकारी दिए ।
कोइरालाका अनुसार उनीहरुको साथबाट घटनामा प्रयोगमा भएका चक्कु, लाइटर, मृतकको मोबाइल, टुक्रा पारिएको सिम कार्ड, रगत लागेको टिसर्ट बरामद गरेको छ ।
उनीहरुले शेखको अण्डकोषसहित लिंग काटेर परालको कुन्युमा जलाएर हत्या गरिएको अवस्थामा फेला परेको थियो । उनीहरुविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइने प्रहरी उपरीक्षक कोइरालाले बताए ।
‘हत्यापछि घटनालाई ढाकछोप गर्न परालको कुन्युमा लगेर जलाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’ कोइरालाले भने । उनका अनुसार सोमबार बेलुका स्थानीय बुद्धिमाया राईको मदिरा पसलमा रक्सी पिउन भारतीय नागरिक शेख गएका थिए ।
रक्सी पिउँदै गरेको बेला त्यही पसलमा लक्ष्मण र करण पनि रक्सी पिउन पुगे। तीनै जना मजदुर हुन् ।
रक्सी पिउने क्रममा शेखसँग लक्ष्मण र करणको वादविवादपछि झगडा भयो। झगडाको क्रममा शेखले लक्ष्मण र करणलाई आमा चकारेर गालीगलौज गरे ।
मदिरामा नशा लागेका लक्ष्मण र करणले रिसको आवेगमा आएर शेखको गुप्तांङ काटेको प्रारम्भिक बयानबाट खुलेको कोइरालाले जानकारी दिए ।