नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि आधा घण्टा स्थगित भएको छ।
आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै शुक्रबार पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि संसद बैठक आधा घण्टाको लागि स्थगीत भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गरे लगत्तै कांग्रेसका सांसद उठपछि सभामुखले कांग्रेसका सांसद मिनबहादुर विश्वकर्मा बोल्न समय दिएका थिए ।
बैठकमा बोल्दै विश्वकर्माले अख्तियारलाई प्रभावमा पारेर सरकारले आफ्नोलाई बोक्ने र विरोधीलाई ठोक्ने प्रवृत्ति देखाएको उनले आरोप लगाए। उनले बालुवाटार जग्गा प्रकरणमा अख्तियारले लगाएको मुद्दाले देशको राजनीतिक माहौल तातेको बताए। विश्वकर्माले बोलेपछि कांग्रेस सांसदहरूले उठेर अवरोध गरेका थिए।
सभामुख सापकोटाले मुद्दा अदालतमा गइसकेकाले व्यवस्थापिका संसदको क्षेत्राधिकारमा नपर्ने भन्दै बैठक सुचारूको लागि सहयोग गर्न कांग्रेस सांसदलाई आग्रह गरे पनि कांग्रेस सांसदहरू उठिरहेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरे ।