नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र र जग्गा धनीको सनाखतपछि पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याइएको मालपोत कार्यालय डिल्लीबजार स्रोतले जनाएको छ ।
गत बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर पौडेल र रेग्मी विरुद्ध भने मुद्दा दायर भएको थिएन । उनीहरुले जग्गा सरकारलाई फिर्ता गर्न मञ्जुर भएको बयान दिएका कारण मुद्दा दायर नगरिएको बताइएको थियो ।
सर्वोच्चको निर्देशनको पालना गर्दै पौडेल र रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सरकारको नाममा खिचिएको मालपोत कार्यालय डिल्लीबजार स्रोतले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ताको आडमा एउटै प्रकृतिको मुद्दामा अख्तियारले फरक व्यहार गरेको आरोप लगाउँदै आएको छ ।
रेग्मी र पौडेल जस्तै गरि जग्गा प्राप्त गरेकामाथि मुद्दा चलाएपनि उनीहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै कांग्रेसले विरोध गरेको छ ।