जब सभामुख सापकोटा कार्यक्रममै भक्कानिए…

सभामुख भएपछि पहिलो पटक आफ्नो गृह गाउँ सिन्धुपाल्चोकको कुभिण्डे आएका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा मञ्चमा बोल्दै गर्दा विगतको घटना सम्झेर पटक–पटक भक्कानिए । माओवादी जनयुद्धको उद्गम थलोको रुपमा लिने गरिएको कुभिण्डेमा सभामुख भएपछि सापकोटा पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन आएका थिए ।

सापकोटाको आफ्नै गाउँमा रहेको सेतीदेवी माध्यमिक विद्यालयको ४३ औ बार्षिकोत्सव कार्यक्रममा भाग लिन आएका सापकोटाको सम्बोधनका क्रममा १० वर्षै युद्धमा मृत्युवरण गरेका र बेपत्ता भएकाहरुका बारेमा बौल्दै गर्दा भक्कानिएका थिए ।



सम्बोधन गर्दै गर्दा सपाकोटाको गला अवरुद्ध भएको थियो भने उनका आँखाबाट आसु झरेको थियो । १० वर्षे युद्धका क्रममा कुभिण्डेबाट मात्रै २२ जनाको मृत्यु भएको थियो भने सेतीदेवी पञ्चकन्या माविबाट अध्ययन गरेका २४ जनाको युद्धमा मृत्यु भएको थियो । सापकोटाको परिवारबाट मात्रै १० वर्षे युद्धमा सात जनाको मृत्यु भएको थियो । यति सानो गाउँबाट मात्रै २२ जनाले शहादत गरे… यति भन्दै गर्दा सापकोटा भक्कानिएका थिए । गला अवरुद्ध भएपछि उनी झण्डै एक मिनेटसम्म बोल्नै सकेका थिएनन् ।

२०५२ माघ १८ गते तत्कालीन राज्यले कुभिण्डेबाट सबैलाई धरपकड गरेर यातना दिएको सम्झदै गर्दा सापकोटा भक्कानिएका थिए । ‘तपाईंहरु सबैको मायाले गर्दा आज म यो स्थानमा आइपुगेको छु, तपाईंहरुको भावनालाई म मर्न दिन्न’, भावुक हुँदै सभामुख सापकोटाले भने । धेरैको बलिदान र त्यागबाट गणतन्त्र प्राप्त भएकाले आफु कहिल्यै पनि नराम्रो नगर्ने प्रतिबद्धता पनि सापकोटाले गरेका थिए । आफु खुला किताब जस्तै भएकाले आफ्नो लागि भन्दा पनि जनाताको लागि काम गर्ने सभामुख सापकोटाले बताए ।

नेकपाले सभामुख बनाएपनि आफुले पार्टीको सबै जिम्मेवारी छाडेको बताउँदै सापकोटाले अब पार्टी भन्दामाथि उठेर देश र जनाताको लागि काम गर्ने बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले जनयुद्धको उद्गम थलो कुभिण्डेलाई विकासको मोडल गाउँ बनाउने र त्यसको अभियान सुरुवात भइसकेको बताए । जनयुद्धको उदुगम थलो भएकाले १० वर्षे युद्धको झल्को दिने गरी संग्रालय निर्माणको तयारी कुभिण्डेमा सुरु भएको सापकोटाले बताए ।

सभामुख सपाकोटालाई नागरिक अभिन्नदन

सिन्धुपाल्चोक जिल्लाबाट पहिलो पटक संवैधानिक निकायमा प्रतिनिधित्व भएको खुसीयालीमा सभामुख अग्निप्रसाद सपाकोटालाई जिल्लबासीको तर्फबाट भव्य नागरिक अभिन्नदन गरिएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अगुवाईमा जिल्लाका स्थानीय सरकार र नागरिक समाजको तर्फबाट अभिन्नदन गरिएको हो ।

सभामुख सापकोटालाई जिल्ला समन्वय समिति, चौतारा साँगाचोकगढी नगरपालिका, इन्द्रावती, हेलम्बु, बलेफी र लिसंखुपाखर गाउँपालिकाको तर्फबाट सम्मान गरिएको थियो । त्यस्तै नागरिक समाजका अगुवा संस्थाहरु नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, जिल्ला बार, नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, निर्माण व्यावसायी संघ, शिक्षक संघ संगठनका दर्जन बढी संघ संस्थाहरुको तर्फबाट अभिन्नदन गरिएको थियो । नेकपा सिन्धुपाल्चोकको तर्फबाट पनि सभामुख सापकोटालाई सम्मान गरिएको थियो । भनेर आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार