राजधानी काठमाडौंबाट सार्ने विषयमा छलफल भइरहेको प्रचण्डको खुलासा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशको राजधानी सार्न सकिने बताएका छन् । शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले बागमती प्रदेशको नाम र राजधानी तोक्न आफूहरुले सहजीकरण मात्रै गरेको बताए ।

प्रचण्डले नेकपाको प्रदेश कमिटी र प्रदेश सरकारको अनुरोधमा पार्टी केन्द्रले नाम र राजधानीका विषयमा सहजीकरण मात्र गरेको स्पष्ट गरे । ‘पार्टी कमिटी र प्रदेश सरकारले हाम्रो प्रदेश नाम राख्न र राजधानी तोक्न तपाईंहरुले सहयोग गरिदिनु पर्‍यो भन्यो भने पार्टी नेतृत्वसमक्ष तोक्नुपर्ने नैतिक जिम्मेवारी आउँदो रहेछ’, उनले भने, ‘हामी सकेसम्म हाम्ले तोक्न नपरोस् भन्ने चाहन्थ्यौँ।’



उनले अन्य प्रदेशको नाम र राजधानी पनि प्रदेश सरकारले नै तोकेको भएपनि तीन नम्बरमा आफूहरुले सहजीकरण गरेको नुवाकोट बासीसँग बताए ।

‘कर्णाली हाम्ले तोकेको होइन्, सुर्खेत राजधानी हाम्ले तोकेको होइन्, सुदूरपश्चिम नाम र गोदावारी राजधानी र गण्डकी नाम र पोखरा राजधानी हाम्ले तोकेको होइन्’, उनले भने, ‘यहाँ पनि प्रदेशले नै तोकोस् भन्ने हाम्रो चाहना थियो। तर प्रदेशको पार्टी कमिटी र प्रदेश सरकारले हाम्रो अलि जटिल भयो, टुंग्याइदिनु पर्‍यो भनेपछि हामीले सहजीकरण गरेको हो।’ उनले धेरै जनप्रतिनिधिलाई नराम्रो लागे पनि विकल्प नभएका कारण आफूहरुले तोकेको बताए।

उनले केन्द्रीय राजधानी (काठमाडौं) सार्ने कुरा आएको विषयमा राजनीतिक नेतृत्वमा छलफल भएको र अहिले पनि छलफल जारी रहेको बताए ।

‘केन्द्रीय राजधानीको कुरा डा हर्कबहादुर गुरुङको प्रतिवेदनमा उल्लेख गरिएको छ । केन्द्रीय राजधानी सार्ने कुरामा छलफल भएको छ । भइनै रहेको छ’ प्रचण्डले भने,‘केन्द्रको राजधानी त छलफलको विषय बन्न सक्छ भने भोलि प्रदेशको राजधानीको विषय सजिलै छलफलको विषय बन्न सक्छ । ’

सम्बन्धित समाचार