ओमानसँग फेरि हार्‍यो नेपाल

आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलामा नेपाल घरेलु भूमिमा ओमानसँग दोस्रो खेलमा पनि पराजित भएको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भयो ।



टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिंग गरेको ओमानले ४७ ओभर २ बलमा २ विकेट गुमाएर नेपाललाई दोस्रो पटक घरेलु भूमिमा स्तब्ध बनायो ।

ओमानका लागि एकिब इलिएसले १०९ रन बनाए । यस्तै कप्तान जिशन मक्सुदले ६८ रन बनाए । इलिएसले नेपालीको इनिंग ध्वस्त पार्नेक्रममा ४ विकेट पनि लिएका थिए । बलिंग र ब्याटिंग दुबैमा चम्किएका इलिएस ३८ रनमा हुँदा जीवनदान पाएका थिए । करण केसीको बलमा आरिफ शेखले उनको क्याच छोडेका थिए । नेपाललाई त्यसपछि विकेट लिने मौका नै मिलेन ।

यसअघि नेपालले तुलनात्मक रुपमा सुधारिएको ब्याटिंग गरेको थियो । ओपनर ज्ञानेन्द्र मल्ल र सुवाष खकुरेलले पहिलो विकेटका लागि ४८ रन जोडेका थिए । तर स्लो ब्याटिंग गरेको नेपालले सुधारिएको ब्याटिंग गर्दा पनि चुनौतिपूर्ण स्कोर भने खडा गर्न सकेन । नेपालले ८ विकेटमा २४९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए । पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२, करण केसीले १०, सन्दिप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रन बनाए । ओमनका लागि अकिब इल्यासले ४ र मोहम्मद नदीमले ३ विकेट लिए ।

जारी श्रृंखलाको पहिलो खेलमा पनि नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो । जारी श्रृंखलामा ओमानले आफ्ना तीन वटै खेल जितेको छ भने नेपालले एक जित हात पारेको छ । अमेरिका भने दुव्ै खेलमा पराजित भएको छ ।

अब नेपालले अमेरिकासँग खेल्न बाँकी छ । उता ओमानले पनि अमेरिकासँग खेल्न बाँकी छ । आइतबारको नतिजापछि ओमान लीग–२ को शीर्ष स्थानमा उक्लिएको छ । ओमानको ९ खेलमा ७ जितसहित १४ अंक भएको छ । उता अमेरिका भने दोस्रो स्थानमा झरेको छ। उसको १२ अंक छ । पुछारबाट दोस्रो स्थानमा रहेको नेपालको ३ खेलबाट २ अंक छ ।

सम्बन्धित समाचार